काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष कसरी अघि बढ्ने भन्नेमा अलमलमा देखिएको छ ।
समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि खनाल–नेपाल पक्षले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ ।
पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको छ । यही रणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेला पछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुबैले बोलेका छैनन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्वद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने, ती कमिटीमा ओलीतिरका मान्छे नआए पदपूर्ति गर्दै जाने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल पक्षको योजना छ ।
उपाध्यक्ष भीम रावलले बिहीवारसम्म आउने समूहगत छलफलको निचोडका आधारमा आगामी योजना तय हुने बताएका छन् ।
खनाल–नेपाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने प्रस्ताव गरेको छ । ‘कमरेड केपी ओलीका विचार र व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरु उत्साहित भएका छन् । हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो,’ नेता नेपालले प्रस्तुत गरेको अवधारणा पत्रमा उल्लेख छ, ‘त्यसका निम्ति सर्वप्रथम नेकपा एमालेको एकतालाई बचाउनुपर्छ । त्यसको पूर्वशर्त २०७५ जेठ २ गतेलाई प्रस्थानविन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्छ ।’
गत फागुन २८ गते प्रधानमन्त्री निवास बालुवाटारको बैठकबाट भएका निर्णयले भने एकताको आधार कमजोर बनाएको ठहर खनाल–नेपाल पक्षीय एमालेको रहेको छ । प्रधानमन्त्री ओलीले २८ गते आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक बोलाएर माओवादी केन्द्रबाट आएका नेताहरुलाई मनोनयन गर्ने र इतर पक्षका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेको सुनाएका थिए ।
नेकपा एमाले ब्युँतिएपछि संयुक्त बैठकको प्रयास भइरहेका बेला ओलीको एकलौटी निर्णय सार्वजनिक भएपछि खनाल–नेपाल पक्षले पनि केन्द्रीय कमिटी र सांसदहरुको बैठक बोलाएर ओली प्रवृत्तिविरुद्ध लड्ने भन्दै राष्ट्रिय भेला आह्वान गरेको थियो । त्यसपछि गत सोमवार ओलीकै प्रस्तावमा दुबै पक्षका पदाधिकारीको बैठक भए पनि त्यो सकारात्मक हुन सकेन ।
मंगलवार ओली पक्षले गरेको चियापानमा खनाल–नेपाल पक्षका नेता सहभागी भएनन् । ओलीले मञ्चबाटै खनाल–नेपाल पक्षीय भेलामा सहभागी भए पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिए ।
खनाल–नेपाल पक्षले ओलीसँग सोमवार भएको छलफलमा राखेको प्रस्तावअनुसार नै गत फागुन २८ गतेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याए एकताको सम्भावना रहेको भेलामा सहभागी नेताहरुले बताएका छन् । सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादीसँग मिलेर नेकपा हुनुअघिको परिस्थितिमा फर्किन प्रधानमन्त्री ओली तयार भए पार्टी एकता हुने बताएका छन् । १२० सदस्यीय संसदीय दलमा नेपाल पक्षका ४० जना मात्रै भए पनि नेकपा एक हुनुअघिको केन्द्रीय कमिटीमा ओली र नेपालपक्षीय नेताहरुको संख्या हाराहारी छ । पछि एकीकरण हुँदा थपिएका केन्द्रीय सदस्यमा ओलीतिर २८ र नेपालतिर १४ जना मात्रै छन् । गत फागुन २८ गते अरु २३ जनालाई ओलीले केन्द्रीय कमिटीमा थपेको बताएका छन् ।
ओलीले पछिल्ला निर्णय केन्द्रीय कमिटीमा पनि एकलौटी बहुमत पुर्याउनका लागि गरेको खनाल–नेपाल पक्षको बुझाइ छ । त्यसैले खनाल–नेपाल पक्षले पार्टी एकताको बटमलाइन २८ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय खारेजीलाई पनि बनाएको छ ।
गत २८ गते नै २ वटा बैठक राखेका ओलीले आउँदो ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बैठकमा पनि नेपालपक्षीय केन्द्रीय सदस्य उपस्थित नभए अनुशासनको कारबाही गर्नेसम्मको परामर्श ओली पक्षमा भइरहेको छ ।
एमालेको विधानमा लगातार ३ वटा बैठकमा जानकारी नदिई उपस्थित नभए कारबाही गर्न सक्ने प्रावधान छ । ‘अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयास असफल पार्न हामीले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्नुपर्छ । २०७५ जेठ २ गते कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागको पुनःस्थापना गर्नुपर्छ,’ नेपालले प्रतिवेदनमा उल्लेख छन्, ‘पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ । नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्छ ।’
भेलामा वरिष्ठ नेता नेपालले २०७१ सालमा ओली पार्टी अध्यक्षमा निर्वाचित हुनु नै आन्दोलनका लागि दुर्भाग्यपूर्ण भएको बताए । ओलीले अरुप्रति निषेधात्मक व्यवहार गरेर आफ्नो गुटलाई मात्रै बलियो बनाउँदै लगेकाले त्यसविरुद्ध लड्नुपर्ने उनले बताएका छन् । ‘तपाईंहरु पनि पीडित, हामी पनि पीडित । पीडित–पीडित एकै ठाउँमा भेला भएका छौं,’ सहभागीलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘नेताहरु पदका लागि हानथाप गरिरहेका छन् भनेर कुनै पनि भ्रममा नबस्नुहोला, ओलीले तहसनहस पारेको पार्टीेलाई हामीले उठाउनुपर्छ ।’
नेता नेपालले ओलीको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षा व्यवस्थापन गर्ने झुण्डमा परिणत गरेको र त्यसो नसके पार्टी नै विभाजन गर्ने दुस्साहस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘आज हामी कति संवेदनशील अवस्थामा छौं भने पार्टी अध्यक्ष र उहाँको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षाको व्यवस्थापन गर्ने झुण्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ । ती महत्त्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रुपमा अघि बढ्नुभएको छ ।’
पार्टी जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन आफ्नो तर्फबाट पहल गर्न पनि वरिष्ठ नेता नेपालले अपिल समेत गरेका छन् ।
कार्यकर्ताको अध्ययन र सुझावका लागि भन्दै नेता नेपालले प्रस्तुत गरेको प्रतिवेदनको अधिकांश भागमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली नवौं महाधिवेशनमा विजयी भएदेखि गत फागुन २८ गतेसम्मको प्रसंग उल्लेख गरिएको छ । प्रतिवेदनको मूल सार नै ओलीले कम्युनिस्ट आन्दोलन तहसनहस पारे भन्ने देखिएको छ ।
‘पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए । उहाँका कैयन नाजायज माग र दाबीलाई सहेर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौं प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे,’ अवधारणा पत्रमा उल्लेख छ, ‘त्यसको पराकाष्ठा हाम्रोजस्तो संसदीय निर्वाचनमा बिरलै प्राप्त हुने वामपन्थीहरूको बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो ।’
प्रतिनिधिसभा विघटनको दुर्घटना टरेलगत्तै अदालतले नमागिएको विषयमा राजनीतिक फैसला गरेर र पार्टी एकताजस्तो नितान्त आन्तरिक मामिलामा प्रवेश गरेर नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्याएको अवधारणापत्रमा उल्लेख छ । आफैंले एकता गरेको पार्टी विभाजित हुँदासमेत ओलीले हर्षबढाइँ गरेर आफ्नो विजय र अरूको पराजयका रूपमा प्रचार गराएको आरोप अवधारणा पत्रमा छ ।
नवौं महाधिवेशनयता पार्टीलाई चलायमान हुन नदिन ओलीको मुख्य भूमिका रहेको वरिष्ठ नेता खनालले बताए ।
पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल पक्षले राजधानीमा राष्ट्रिय भेला गरिरहेका बेला प्रधानमन्त्री तथ पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीवारका लागि संसदीय दलको बैठक बोलाएका छन् । तत्कालीन नेकपामा रहँदा मुख्य सचेतकको जिम्मेवारी पाएका सांसद विशाल भट्टराईका अनुसार बिहीवार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । भट्टराईका अनुसार समसामयिक परिस्थिति, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीका समस्यालाई निराकरण गर्नेबारे संसदीय दलको बैठकमा छलफल हुने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।