काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीविरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने जनाएका छन् ।
बुधवार राति नेपाल प्रेसलाई अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रिय भेलाको नाममा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बितण्डा मच्चाएको आरोप लगाएका छन् ।
ओलीले एमाले भनेर एमालेविरुद्ध गतिविधि गर्नुभन्दा अलग्गै गतिविधि गरे राम्रो हुने पनि सुझाव खनाल–नेपाल समूहलाई दिएका छन् ।
‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा, त्योभन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि ! एमाले भएर गतिविधि गर्न पाइँदैन,’ उनले भने, ‘छुट्टिन मन छ भने मसँग निवेदन हाले भयो नि ! कानून त्यस्तो ल्याइदेऊ, सजिलो बनाइदेऊ भनेर । हामी अलग हुन्छौं भने भो नि त !’
प्रधानमन्त्री ओलीले राजनीति करकापले नहुने बताउँदै संगठनमा कसैलाई पनि जबरजस्ती नहुने बताएका छन् । ओलीले नेपाल समूह पार्टीबाट बाहिरिनै चाहेको हो भने उनीहरूलाई सजिलो हुने गरी अध्यादेश ल्याइदिन आफू तयार रहेको समेत बताएका छन् ।
‘उहाँहरूले विधेयक माग्नुभयो भने म ल्याइदिन्छु । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । आफ्नो स्वेच्छाको कुरा हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । संगठनको कुरा हो । बँधुवाको हिसाबमा मान्छेलाई राखेर केही पनि हुँदैन,’ उनले भने ।
राजनीतिक दल फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत समर्थन जुटाउनुपर्ने व्यवस्था रहेको छ । यसअघि ओलीले दल फुटाउन संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत पुर्याए हुने अध्यादेश ल्याएका थिए । पछि चर्काे विरोध भएपछि अध्यादेश फिर्ता गरिएको थियो ।
नेकपा एमालेमा खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीमा ४० प्रतिशत रहेको छ । तर संसदीय दलमा भने ४० प्रतिशत नपुग्ने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।