काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काठमाडौंमा गरिरहेको राष्ट्रिय कार्यकर्ता भेलाले मनपरी गर्दै हिँडेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ३ महिने ‘प्लान’ बनाउने भएको छ ।
आज सुरु भएर भोलि बिहीबारसम्म चल्ने बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छारी शक्तिको रूपमा देखिएका ओलीविरुद्ध लड्ने रणनीति तय गर्ने जनाइएको छ ।
भेलाको पहिलो दिन बुधबार सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेपछि समूहगत छलफल हुने भएको छ । १० वटै समूहले दिएका सुझावलाई समेटेर भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
प्राप्त सुझावका आधारमा भेलाले आगामी ३ महिनाका लागि कार्यदिशा तय गरेर पारित गर्ने नेता गंगालाल तुलाधरले बताएका छन् ।
एमाले पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्ध अन्तरसंघर्षहरूलाई रणनीतिक रूपमा कार्यदिशामा समावेश गरिने समेत तुलाधरले बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला अध्यक्ष ओलीका क्रियाकलापले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरू कार्यकर्ता भेला गरी सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।
‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरू देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौं । पछिल्लो शृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी खोस्ने, एकपक्षीय रूपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कैयौंलाई पार्टी जिम्मेवारीबाट हटाउने र कारवाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रिनुपर्छ । यो पार्टीलाई एकताबद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसूस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौं,’ उनले भने ।
तुलाधरले एकताका साथ अघि बढ्नका लागि भेलाले ऊर्जा दिने विश्वास लिएको समेत बताए । भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारबाहीहरू कुनै पनि हालतमा सर्वस्वीकार्य नरहेको र विरोधयोग्य रहेको सन्देश पनि देशव्यापी रूपमा प्रवाहित गरेको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।