काठमाडौं – नेकपा एमालेभित्र विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ ।
दलका मुख्य सचेतक विशाल भट्टराईले बैठक बोलाइएकोबारे जानकारी दिएका छन् ।
सूर्य चिह्नबाट चुनाव लडेर जितेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यलाई दलको बैठकमा बोलाइएको भट्टराईले बताए । ‘बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप नै जारी गरेका छौं,’ उनले भने ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमालेकै माधवकुमार नेपाल पक्षले ओलीको बैठक बहिष्कार गर्ने बताउँदै आएको छ ।
मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी अनुशासन उल्लंघन गर्नेलाई विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारवाही हुने चेतावनी दिएको भोलिपल्ट बैठकबारे सूचना दिइएको छ ।
सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदयेश त्रिपाठीलगायत ३ जनालाई समेत बैठकमा बोलाइएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि बोलाइएको एमालेको भोलि पहिलो संसदीय दलको बैठक रहेको छ ।
मुख्य सचेतक भट्टराईले सूर्य चिह्न लिएर चुनाव लडेका सबै सांसदलाई भोलि बिहीबारको बैठकमा निम्तो पठाइएको बताए । हाल माओवादी केन्द्रका नेता भएका नारायणकाजी श्रेष्ठलाई समेत भोलि बिहीबारको एमाले संसदीय दलको बैठकमा बोलाइएको छ । श्रेष्ठ सूर्य चिह्नबाट राष्ट्रियसभा सदस्य बनेका हुन् ।
‘केपी ओलीले हस्ताक्षर गरेर टिकट दिएका सबैलाई बोलाइएको छ, नारायणकाजी पनि त्यसमा पर्नुभएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।