काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रीत रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् ।
संसद पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलवार शितल निवासमा सर्वदलीय बैठक गरेकी हुन् ।
बैठकमा भण्डारीले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै दलीय एकता र सहकार्यबाटै मुलुकलाई अघि बढाइनुपर्ने आवश्यकता आंैल्याएकी छन् ।
बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद सुचारु गर्नेतर्फ लाग्न सुझाए ।
‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले दलहरु एकताबद्ध ढंगबाट अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड रहेको बताएका छन् । ‘संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरू मिल्नुपर्छ भन्नेमा राष्ट्रपतिको जोड रह्यो, हामीले राष्ट्रपतिले दलहरूसँग संवाद गर्न ढिला गर्नुभयो । यो छलफल संसद् विघटनअघि नै हुनुपथ्र्यो भन्यौं,’ नेता पौडेलले शीतल निवासमा भएको छलफलबारे जानकारी दिँदै भने ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको निर्णय सदर गर्दा राष्ट्रपतिले दलसँग आवश्यक परामर्श नगरेकोप्रति गुनासो राखे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपतिले उचित समयमा दलसँग परामर्श नगरेको गुनासो गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रचण्ड सहितका नेताले राष्ट्रपतिले समयमा दलहरूसँग परामर्श नगर्दा मुलुकमा दलबीच राजनीतिक तिक्तताको अवस्था बढ्दो क्रममा पुगेको धारणा राखेको बताएका छन् ।
‘राष्ट्रपतिले समयमा दलसँग परामर्श गर्नुभएन, मुलुकको यो अवस्था आउनुमा प्रधानमन्त्रीसँगै राष्ट्रपति पनि जिम्मेवार हुनुहुन्छ भन्ने धारणा दलका नेताले राखे, प्रचण्डले पनि त्यही भन्नुभयो,’ केसीले भनेका छन् ।
‘हाम्रो समाज सालिन, सभ्य र सहिष्णु रहिआएको छ, यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ,’ राष्ट्रपतिले बैठकमा राखेको भनाइ उदृत गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दललाई धन्यवाद समेत दिएकी छन् ।
बंगलादेशका राष्ट्रपतिबाट ढाकामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको र बंगलादेशको राजकीय भ्रमण गर्न लागेकोबारे समेत दललाई राष्ट्रपति भण्डारीले जानकारी दिएकी छन् ।
सर्वदलीय बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित नेता ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल समेत बैठकमा सहभागी थिए ।
नेकपा एमाले नेता माधव नेपाल र झलनाथ खनाल तथा जसपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी भएका थिएनन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।