आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वदलीय बैठकमा विद्या भण्डारीकै सामुन्ने केपी ओलीको राजीनामा मागियो

सर्वदलीय बैठकमा विद्या भण्डारीकै सामुन्ने केपी ओलीको राजीनामा मागियो

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 28.9K
    SHARES

  • सर्वदलीय बैठकमा विद्या भण्डारीकै सामुन्ने केपी ओलीको राजीनामा मागियो

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार शितलनिवासमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

    बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शिक्षामा राजनीतिक प्रभाव हटाउन प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कूलपति पदबाट राजीनामा दिनुपर्ने माग गरे ।

    बैठकपछि लोहनीले भने, ‘यदि शिक्षामा भएको राजनीतिकरण हटाउने हो भने प्रधानमन्त्रीले बोल्ड निर्णय लिएर कूलपतिबाट तुरुन्त राजीनामा दिनुपर्छ । सक्षम र पारदर्शी व्यक्तिलाई कूलपति नियुक्त गर्नुपर्ने हुन्छ ।’ मंगलबार बोलाइएको सर्वदलीय बैठकमा गुणस्तरयुक्त शिक्षा र स्वास्थ्यको कुरा उठेको थियो । 

    राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनकै गल्तीको त्यान्द्रो समेत खुलेको छ । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन गर्नुअघि दलहरुलाई बोलाएर छलफल नगर्नु राष्ट्रपतिको गल्ती भएको आरोप लगाए । 

    जवाफमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानमै लेखिएको प्रावधानअनुसार नै मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस कार्यान्वयन गरेको स्पष्टीकरण दिएकी छन् ।

    मंगलबार राष्ट्रपति निवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले संविधानबमोजिम गरेको कामलाई अन्यथा नबुझिदिन आग्रह गरेकी हुन् ।

    ‘मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि राष्ट्रपतिले कार्यान्वयन गर्ने कुरा संविधानमै उल्लेख भएको विषय हो,’ राष्ट्रपति भण्डारीको भनाइ उदृत गर्दै बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने, ‘यसलाई अन्यथा बुझिदिनुभएन ।’

    बैठकमा प्रधानमन्त्री ओलीले समेत प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने आफ्नै जिद्दी गरेका थिए । ‘संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधिसभा विघटन हुन्छन्,’ ओलीले बैठकमा भने, ‘नेपालमै पनि फेरि विघटन हुनसक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।’

    प्रधानमन्त्री ओलीले गरेको विघटनलाई सर्वाेच्च अदालतले असंवैधानिक भनेर बदर गरिसक्दा समेत उनी अझै पनि संविधानको आफ्नै तरिकाले ब्याख्या गरिरहेका छन् । उनले फेरि जिद्दी गर्दै भने, ‘नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? अब १ वर्षपछि स्थानीय निकायको चुनाव हुन्छ, त्यसलाई प्रतिगमन भनिदिने ? त्यसपछि अन्य चुनाव हुन्छ । त्यसैले चुनावलाई प्रतिगमन भनिदिनुभएन साथीहरुले ।’

    बैठकमा माओवादी केन्द्रका तर्फबाट सहभागी भएका नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना भइसकेको अवस्थामा त्यसकै बारेमा छलफल गरिरहनु उपयुक्त नहुने तर्क राखेका छन् ।

    नेपाली कांग्रेसबाट बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई तहसनहस गराउने र संविधान नै भताभुंग गर्ने गरी प्रतिनिधिसभा विघटन गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

    नेपाली कांग्रेसका अर्का नेता बिमलेन्द्र निधिले विगतमा जे भएको भएपनि अब संसदले नै निकास दिने गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

    बैठकको अन्तिममा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गरेर आफूले संविधानबमोजिम नै काम गरेकाले अन्यथा नलिन आग्रह गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend