काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल पक्षले भोलि बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरेको छ ।
बुधवारका लागि बोलाइएको कार्यकर्ता भेलाको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले एमाले अध्यक्ष समेत रहेका ओलीलाई प्रमुख अतिथि बन्न आग्रह गरेका हुन् ।
नेता भट्टराईले भेलामा सहभागी हुनेलाई कारवाही गर्ने भन्ने प्रधानमन्त्री ओलीको भाषा धम्कीपूर्ण भएको आरोप समेत लगाए ।
‘प्रधानमन्त्रीका अभिव्यक्ति सुन्न पाएका छौं, यो बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन, बुद्धको अनुयायी भएका प्रधानमन्त्रीलाई यत्ति भन्न चाहन्छु,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले हाम्रो कार्यकर्ता भेलामा पनि नजर लगाउने भन्नुभएको रहेछ । उहाँको तर्फबाट को को नजर लगाउन आउनुहुन्छ, स्वागत छ ! तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुस् । यो भेलाको प्रमुख आतिथ्यता गर्नुस्, देशभरबाट आउने सबै तपाईंकै कार्यकर्ता हुन् ।’
उनले कारवाहीले पार्टी अगाडि नबढ्ने भन्दै धम्कीको भाषा नबोल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । ‘हामी सबै एकपछि अर्को कारवाही भोग्न लामबद्ध नै छौं, त्यो अहंकारपूर्ण अभिव्यक्ति नबोल्न आग्रह गर्छु,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।