काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले भोलि चैत ४ र पर्सी ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
सोमबार बानेश्वरस्थित अर्याल होटलमा माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।
भेलाका सन्दर्भमा आज मंगलवार दिउँसो २ बजे हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले बताएका छन् ।
आज मंगलवार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरे पनि माधव नेपाल पक्षका नेताहरू नजाने भएका छन् । ओलीले बोलाएको चियापानमा आफ्नो पक्षका कोही पनि नेताहरूलाई नजान शीर्ष नेताले निर्देशन गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा २ पक्षबीच भएको छलफल निष्कर्षमा नपुगेकाले माधव नेपाल पक्षले कुनै पनि कार्यक्रम नरोक्ने निर्णय गरेको छ । नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाल लगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेको छ ।
अध्यक्ष ओलीले नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाउने, केन्द्रीय समिति बैठकका विषयमा साझा सहमति बनाएर जान प्रस्ताव गरेका थिए । ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी प्रचण्डसँग मिलेर नेपाल पक्षले कार्य गरे पनि अदालतको फैसलाले मात्र राजनीति जोगिएको भन्दै त्यसमा आफूले ती गल्ती महसुसको अपेक्षा गरिएको बताएका थिए । अध्यक्ष ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।