आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र अर्काे उथलपुथल : ओलीलाई भेटेपछि माधव नेपालले गरे यस्तो कठोर निर्णय

एमालेभित्र अर्काे उथलपुथल : ओलीलाई भेटेपछि माधव नेपालले गरे यस्तो कठोर निर्णय

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 9.7K
    SHARES

  • एमालेभित्र अर्काे उथलपुथल : ओलीलाई भेटेपछि माधव नेपालले गरे यस्तो कठोर निर्णय

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि पनि चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओली सहितका नेतासँग सोमवार बिहान २ घण्टाभन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले बानेश्वरको होटलमा साँझ आफूपक्षीय नेतासँग छलफल गर्दै राष्ट्रिय भेला नरोकिने निर्णय गरेका हुन् ।

    सोमबार ओली पक्षसँग भएकोको संवाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने निर्णय भएको छ ।

    पार्टी कार्यालय धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल पक्षले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरूको भेला गरेको थियो । भेलामा ओलीसँगको छलफल निष्कर्षमा नपुगेकाले कुनै पनि कार्यक्रम नरोकिने निर्णय नेता नेपालले सुनाएका एक नेताले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले भोलि मंगलवार सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् । तर नेता खनाल–नेपाल पक्षका नेताले चियापानमा समेत नजाने निर्णय गरेका छन् । नेता नेपालले आफू पक्षका सांसद र केन्द्रीय सदस्यलाई चियापानमा नजान निर्देशन दिएका छन् ।

    धुम्बाराहीको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक छलफल गर्ने सहमति भएको बताएका थिए । ज्ञवालीले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने बताएका थिए ।

    ‘अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ,’ ज्ञवालीले भने, ‘यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना भएको छ ।’

    नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रूपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको जानकारी दिए ।

    ‘बलियो एमालेले मात्र अरु वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिंगो देशलाई एकताबद्ध र नेतृत्व दिनसक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौं,’ ज्ञवालीले भने ।

    बैठकमा नेपाल पक्षले आफू विना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति व्यक्त गरेको छ ।

    परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भनेको बताए । ‘हामीले ती निर्णयमा पुनरावलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौं,’ ज्ञवालीले भने, ‘फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्रीज्यूले राख्नुभयो । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।’

    ज्ञवालीले नेता नेपाल पक्षको चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुर्‍याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गर्न आफूहरुले भनेको स्पष्ट पारेका छन् ।

    छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई बताए । ‘फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौं भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन,’ उनले भने, ‘कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ ।’

    नेता रावलले सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले २०७५ जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताएका छन् । रावलका अनुसार पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा छलफल भएको छ । 

    ‘एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौं । पार्टीलाई  एकताबद्ध बनाएर सशक्तरुपमा अगाडि बढाउनेमा हामी दृढ छौं,’ उनले भने, ‘तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक भएन, भएन, फेरि पनि एमालेलाई विभाजन गर्ने कुनै पनि क्रियाकलापका विरुद्धमा हामी छौं ।’

    रावलले पार्टीलाई एक बनाउनका लागि विधान, पद्धति र प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । रावलले पार्टीको विवाद मिलाउन अहिले र यसअघि भएको निर्णय र गतिविधि स्थगन हुनुपर्ने माग पनि राखेका छन् । ‘फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छौं,’ रावलले भने ।

    नेकपा एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिता विना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो ।

    सोमबारको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुवास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend