काठमाडौं – राजनीतिक संकट गहिरिँदै गएका बेला आईतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करीब डेढ घण्टा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली आईतबार साँझ ७ बजे राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । ओली करीब साढे ८ बजे शितलनिवासबाट बाहिरिएका स्रोतले जनाएको छ ।
ओली नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरूबीच छलफल चलिरहेका बेला उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन एमाले र माओवादी ब्युँतिएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ सत्ता समीकरणको छलफल चलिरहेको छ ।
यसअघि आफ्नै पार्टीको प्रचण्ड–नेपाल पक्षले हटाउने तयारी गरेको संकेत पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर निर्वाचनलाई सर्वोच्च अदालतले उल्ट्याइदियो ।
आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण अप्ठ्यारो पर्दै गएपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँगको नियमित भेटघाट बाक्लिरहेको स्रोतले जनाएको छ ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संघर्ष चलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।