काठमाडौं – संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’ अनुसार नै सत्तारुढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् ।
तर उनीहरुको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन ।
एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणबीच दलहरू नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन ।
संसदको दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ भने तेस्रो भूमिकामा रहेको माओवादी केन्द्र समेत वर्तमान सरकारको विकल्प खोज्जेगरी अघि बढिरहेको छ । तर संसदमा चौथौं भूमिकामा स्थापित जनता समाजवादी पार्टी (जसपा) भित्र भने सरकारको विकल्प खोज्ने कि ओली नेतृत्वको सरकारलाई नै सघाएर अघि बढ्ने भन्नेमा अन्योल छ ।
अन्योलकै बीचमा कांग्रेस, माओवादी र जसपा गरी ३ दलका बीचमा नयाँ सत्ता गठबन्धन गर्न भन्दै औपचारिक छलफल र संवाद पनि जारी नै छन् । यी ३ दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेका छैनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्ष सरकारको नेतृत्वका लागि सभापति देउवालाई अघि सार्ने निर्णयसहित अघि बढेपछि देउवा समेत सरकारको नेतृत्व गर्न तयार भएका छन् ।
कांग्रेसले औपचारिक रुपमा नै सत्ता गठबन्धनका लागि भनेर दलबीच संवादको शुरूआत गरिसकेको छ । कांग्रेसले गत शुक्रवार जसपालाई समेत बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेको थियो भने माओवादी केन्द्रसँग समेत कांग्रेसले आन्तरिक रुपमा संवाद चलाइरहेकै छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको र परिपक्व वातावरणको पर्खाइमा कांग्रेस अघि बढिरहेको बताएका छन् ।
‘देशलाई संकटबाट मुक्त गर्न कांग्रेस तयार छ, कांग्रेसले सरकारको नेतृत्व गर्न सक्छ तर परिपक्व वातावरण बन्नुप¥यो, त्यो अवस्थाको पर्खाइमा कांग्रेस छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।
उनका अनुसार कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्वका लागि साथ दिने बताइसकेका छन् ।
पछिल्लोपटक एमाले र माओवादी केन्द्र फरक–फरक दलको भूमिकामा पुगेपछि समेत प्रचण्डले देउवालाई सरकारको नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरिसकेका छन् । आईतवार बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले समेत नयाँ सरकार गठन गर्न दलबीच गठबन्धनको प्रयास गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।