काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले फेरि प्रतिनिधिसभा संसद विघटन हुने बताएका छन् ।
प्राइम टाईम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने भएकाले संसद विघटन हुने बताए ।
उनले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताए । ‘आजका मितिसम्म एमाले ठूलो पार्टी हो,’ ओलीले भने, ‘एमालेबाहेक अरुले सरकार चलाउने हो भने संसदमा मत पुर्याउनुपर्यो, त्यो त अरु कसैले पुर्याउँदैन ।’
संसदमा कसैले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने ओलीले बताए । ओलीले यसअघि आफूले संसद विघटन गरेर गल्ती गरेको स्वीकारेका छन् ।
‘तपाईं फेरि संसद् विघटन गर्न चाहनुहुन्छ रे त !’ भन्ने प्रश्नमा उनले भने, ‘म फेरि त्यस्तो गल्ती दोहोर्याउँदिनँ, एमाले बाहेकको सरकार बन्न सकेन भने, कसैले मत पुर्याउन सकेन भने त संविधानअनुसार नै संसद विघटन हुन्छ ।’
ओलीले जनता समाजवादी पार्टी (जसपा) र कांग्रेसलाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् । उनले आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताए ।
ओलीले आफूसँग बहुमत रहेकाले पदबाट राजीनामा नदिने समेत बताए । ‘मलाई सबैभन्दा बढी मन नपराउनेहरुले पनि अहिले मलाई समर्थन दिइरहेका छन्,’ ओलीले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।