आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सांसद पद नै जाने भएपछि एमालेको केन्द्रीय सदस्य छाडेर खुरुखुरु माओवादीमै प्रवेश, यस्तो छ कानून

सांसद पद नै जाने भएपछि एमालेको केन्द्रीय सदस्य छाडेर खुरुखुरु माओवादीमै प्रवेश, यस्तो छ कानून

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 83.8K
    SHARES

  • सांसद पद नै जाने भएपछि एमालेको केन्द्रीय सदस्य छाडेर खुरुखुरु माओवादीमै प्रवेश, यस्तो छ कानून

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेका आफ्ना सांसदलाई कारवाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सांसदहरू माओवादीमै फर्किन थालेका छन् ।

    हालै प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा परेर नेकपा एमालेतिर लागेका नेकपा माओवादी केन्द्रका सांसद ठम्मर विष्ट अन्ततः माओवादी अध्यक्ष प्रचण्डको शरणमा पुगेका हुन् ।

    माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका हुन् । २ दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका छन् ।

    आईतवार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात् पार्टीमा फर्किएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ले जानकारी दिएका छन् ।

    ‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत समेत गर्नुभएको छ,’ उनले भने ।

    पदको लोभमा फर्किएको भन्ने टिप्पणीबारे उनले भनेका छन्, ‘उहाँलाई मन्त्री बनाउने वा अन्य पद दिने भन्नेबारे केही सहमति भएको छैन । उहाँ आफैं माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर फर्किनुभएको छ ।’

    विष्टले गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए । विष्टले केही समयपछि हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

    मुख्यमन्त्री शाहीले एमालेमा प्रवेश गरेका सांसदहरुलाई कारबाही गर्ने भनेका थिए । माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले समेत एमालेतिर लागेकाहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

    माओवादीमा नफर्किएका गृहमन्त्री तथा सांसद रामबहादुर थापा ‘बादल’ सहितका सांसदलाई कारवाही हुने भएको छ । विद्यमान कानूनले नेकपा माओवादी केन्द्रले कानूनी प्रक्रिया अगाडि बढाएमा कुनै पनि बेला सांसद पद समाप्त हुने देखाएको छ ।

    माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले एमालेमा लागेकासँग स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउने निर्णय गरेको छ ।

    नेकपा एमाले अध्यक्ष ओलीले शुक्रवार बादलसहित माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका थिए । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर पार्टीको केन्द्रीय कमिटीको विशेष बैठकले केन्द्रीय सदस्य पदमा मनोनित गरेको जानकारी दिएका छन् ।

    सांसद पद रिक्त रहेको औपचारिक जानकारी भने संसदबाटै हुनेछ । केन्द्रीय कमिटीले सांसदलाई दलबाट निष्कासन गरेको जानकारी पार्टीको संसदीय दलको कार्यालयले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

    आईतवारदेखि सुरू भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको एजेन्डामा पार्टी अनुशासनको कारबाही सम्बन्धी विषय समेत रहेको छ । यसरी गृहमन्त्री बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभू साह, गौरीशंकर चौधरी, दावा लामालाई कारबाही गर्ने तयारी रहेको माओवादी स्रोतले जनाएको छ ।

    ‘आज मन्त्रीहरूलाई कारबाही गर्ने सम्बन्धी प्रस्ताव आयो । भोलि औपचारिक निर्णय हुन्छ,’ केन्द्रीय सदस्य महेश्वरजंग गहतराजले भनेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट, खानेपानी मन्त्री थापा, शहरी विकासमन्त्री साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरी र युवा तथा खेलकुद मन्त्री लामा सहितले नेकपा एमालेलाई समर्थन गर्दै माओवादी छाडेका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा कुनै दलबाट निर्वाचित व्यक्तिले दल त्याग गरेमा निर्वाचित भएको पद पनि गुम्ने व्यवस्था रहेको छ ।

    दफा ३१ मा उल्लेख छ, ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसदको सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्न सक्ने छैन ।’

    ऐनको दफा ३२ मा दल त्याग गरेको मानिने ३ आधार उल्लेख छन् । जसमा लेखिएको छ, ‘सम्बन्धित दलको सदस्यले लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा र आफैंले वा आफूसमेत संलग्न भई अर्को दल गठन गरेमा ।’

    दफा ३२ को उपदफा (२) मा सम्बन्धित दलको केन्द्रीय समितिले पार्टीको निर्देशन उल्लंघन गरेमा दलबाटै निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ ।

    सांसद पद रिक्त रहेको औपचारिक जानकारी संसदबाटै हुने जनाइएको छ । केन्द्रीय कमिटीले सांसदलाई दलबाट निष्कासन गरेको जानकारी पार्टीको संसदीय दलको कार्यालयले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘पार्टीबाट निष्कासन भएको सूचना प्राप्त भएपछि सदन चालू रहेको अवस्थामा सभामुख वा राष्ट्रियसभा अध्यक्षले सदनमै पढेर सुनाउनुहुन्छ । त्यसपछि निष्कासनमा परेका सांसदको पद रिक्त हुन्छ ।’

    सदन चालू नरहेको अवस्थामा भने सूचना टाँस भएपछि निष्कासनमा परेका सांसदको पद रिक्त भएको मानिने राजनीतिक दलसम्बन्धी ऐनको दफा ३६ मा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend