आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले यसरी हटाउन सक्छन् नेपाल पक्षका सांसद र नेताहरूलाई

केपी ओलीले यसरी हटाउन सक्छन् नेपाल पक्षका सांसद र नेताहरूलाई

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 5.7K
    SHARES

  • केपी ओलीले यसरी हटाउन सक्छन् नेपाल पक्षका सांसद र नेताहरूलाई

    काठमाडौं – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारुढ दल नेकपा एमाले विभाजनतर्फ उन्मुख भएको छ ।

    ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पनि समानान्तर गतिविधि सुरू गरेको छ ।

    सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरेको छ ।

    प्रधानमन्त्री ओलीले शुक्रवार आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल पक्षका नेताहरुको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । उनले माओवादी केन्द्र छाडेर ओली पक्षमा मिसिन आइपुगेका २३ जना नेतालाई समेत विधानविपरीत केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल–नेपाल पक्ष पनि आफू नै मूलधार भएको दाबी गर्दै समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको छ ।

    खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुको शनिवार बसेको बैठकले आउँदो ४ र ५ गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । ओलीको कदमविरुद्ध संगठित पहल गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

    भेलामा मुलुकभरका प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिलाई समेत बोलाइएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । राष्ट्रिय भेलाले पार्टीको भावी दिशा र निर्णयका लागि औपचारिक धारणा तय गर्ने भएको छ ।

    खनाल–नेपाल पक्षले आउँदो राष्ट्रिय भेलासहित पार्टीको समग्र कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । शनिवारको बैठकले १ नम्बर प्रदेशमा सचिव भीम आचार्य, २ नम्बर प्रदेशमा उपमहासचिव घनश्याम भुसाल, बाग्मती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीम रावललाई जिम्मेवारी दिएको छ ।

    युवा संगठन फाँट स्थायी कमिटी सदस्य रघुजी पन्त, विद्यार्थी फाँट सचिव गोकर्ण विष्ट, प्रचार विभाग सचिव योगेश भट्टराई, महिला संगठन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी फाँट प्रमेश हमाललाई जिम्मा दिएको छ ।

    ओलीले शुक्रवार नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनयनको निर्णय गरेलगत्तै खनाल–नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो । बैठकले ओलीको ज्यादतीले पराकाष्ठा नाघेको र त्यसले पार्टी नै समाप्त पार्ने निष्कर्ष निकालेको थियो ।

    केन्द्रीय कमिटी सदस्य र सांसदहरुको शनिवारको भेलाको निष्कर्ष पनि त्यस्तै छ । भेलाले पार्टीको मूलधार आफूहरु नै भएकाले त्यसलाई थप बलियो बनाउँदै ओलीविरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने निष्कर्ष निकालेको छ । ओलीले आउँदो ७ गतेका लागि केन्द्रीय कमिटी बैठक डाकेका छन् ।

    बैठकमा खनाल–नेपाल पक्ष नजाने भएको छ । आफ्नो अवैधानिक कदमबाट ओली पछि हटेर कमजोरी नसच्याए उनीसँगै अघि बढ्न नसकिने नेताहरुले बताएका छन् ।

    शनिवारको बैठकमा एमालेका वरिष्ठ नेता नेपालले ओली पार्टी विभाजनको दिशामा लागेकाले मिलेर जाने सम्भावना सकिँदै गएको भन्दै ब्रिफिङ गरेका थिए । ‘कम्युनिस्ट आन्दोलनको मूलधारको नेतृत्व हामीले गरेका हौं, एमाले निर्माण गर्ने नेता हामी हौं । त्यसैले यसको स्वामित्व हामीसँग छ,’ भेलामा नेता नेपालले भनेका थिए, ‘त्यसैले १ जना नेताले बदमासी गर्‍यो भनेर सर्लक्क छाड्न हुँदैन । उसलाई पार्टी बुझाइँदैन ।’ उनले ओलीका गलत कदमविरुद्ध लाग्नुपर्ने र त्यसका लागि देशव्यापी रुपमा संगठनलाई क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

    अर्का वरिष्ठ नेता खनालले पनि झापा आन्दोलनदेखिका प्रसंग उठाउँदै आफूहरु पार्टीको मूलधारको नेतृत्वमा भएको बताएका थिए । पञ्चायतकालमै तत्कालीन मालेको नेतृत्व गरेका खनाल २०६४ सालको संविधानसभा चुनावपछि एमालेको महासचिव हुँदै २०६५ सालमा निर्वाचित अध्यक्ष बनेका थिए । नेता नेपाल १५ वर्ष पार्टीको महासचिव भएका थिए । ओली जेल परेका बेला तत्कालीन मालेको संगठन निर्माणको मूल नेता खनाल र नेपाल हुन् । त्यसैले उनीहरुले ती प्रसंग उठाउँदै ओलीले जबरजस्ती गर्दैमा आफूहरु चुप लागेर नबस्ने धारणा राखेका थिए ।

    ‘एमाले पार्टी हामीले बनाएको हो, केपी ओलीले निकाल्दैमा हामी निक्लने हुन्छ ?’ वरिष्ठ नेता खनालले भेलामा भनेका थिए, ‘अप्ठ्यारो पारेर उनी पार्टी कब्जा गर्न खोज्दै छन् ।’ खनाल र नेपालले ओलीसँग गैरराजनीतिक हुल्लडबाज मात्र रहेकाले त्यो मूलधार हुन नसक्ने तर्क गरेका थिए ।

    खनाल–नेपाल पक्षको बैठकले अवैधानिक रुपमा मनोनयन गरेका व्यक्तिहरु हटाएर विधिवत बैठक बोलाए मात्र सोच्न सकिने, नभए आफ्नो ढंगले अघि बढ्दै जानुपर्ने धारणा तय गरेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार आफ्नो गुटको बैठकलाई केन्द्रीय कमिटीको बैठककै संज्ञा दिएका थिए । केन्द्रीय कमिटीको बहुमत आफूसँग रहेको उनको दाबी थियो ।

    ओलीले विभिन्न मञ्चमा कारबाही गर्ने लगायतका धम्की पनि दिइरहेका छन् । उनले कारबाही गरे सांसदहरुको पद जानेसम्मका कुरा आइरहेका छन् । त्यसैले शनिवारको बैठकमा खनाल–नेपाल पक्षले ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेमा राय लिन कानूनविद्हरुलाई पनि बोलाइएको थियो ।

    कानूनविद्हरुले पार्टी भित्रको कारबाही प्रक्रिया लामो हुने र त्यसमा ओलीको कदमले मात्र वैधानिकता नपाउने राय दिएका थिए । शुक्रवारको बैठक नै अवैधानिक हुने भएकाले ओलीले गरेको मनोनयनले मान्यता नपाउने उनीहरुले बताएका थिए ।

    ओलीले खनाल–नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्न सक्छन् भन्ने चर्चा चलिरहेका बेला कानूनविद्हरुले पार्टीले सिधै सांसद हटाउन नसक्ने धारणा राखेका थिए । संसदभित्र संसदीय दलले लगाएको ह्वीप उल्लंघन गरेपछि मात्र सांसदमाथिको कारबाही प्रक्रिया सुरू हुने उनीहरुले बताएका छन् । त्यस्तो कारबाहीलाई पार्टीको केन्द्रीय कमिटीले पनि पास गर्नुपर्ने र केन्द्रीय कमिटीले संसद सचिवालयमा जानकारी गराएपछि १५ दिनभित्र सभामुखले त्यसबारे निर्णय गर्न सक्ने प्रावधान रहेको उल्लेख गर्दै उनीहरुले ओलीले चाहँदैमा सहजै कारबाही हुन नसक्ने राय दिएका थिए । ‘ओलीले निकाल्दैमा सांसद पद गइहाल्दैन,’ बैठकमा अधिवक्ता टीकाराम भट्टराईले भनेका थिए ।

    ओलीले शनिवार आउँदो ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको उल्लेख गर्दै नेताहरुलाई त्यसमा आउन सार्वजनिक मञ्चबाट निम्तो दिएका छन् । अखिल नेपाल महिला संघको आफूपक्षीय भेलामा उनले बैठकमा नआए विधानअनुसारको प्रक्रिया अघि बढ्ने भन्दै खनाल–नेपाल पक्षविरुद्ध कारबाही अघि बढाउने संकेत दिएका छन् ।

    एमालेको २०७१ सालको नवौं महाधिवेशनबाट संशोधित विधानमा पार्टीको बहुमतले निर्णय गर्ने उल्लेख छ । विधानको धारा ४९ (क) मा पार्टीभित्र गुटबन्दी गरेको, षड्यन्त्र गरेको लगायतमा अनुशासनको कारबाही गर्न सक्ने प्रावधान छ । धारा ४९ (च) मा लगातार ३ पटकसम्म कमिटी बैठकमा विना सूचना र विना कारण अनुपस्थित रहे कमिटी सदस्यता स्वतः समाप्त हुने प्रावधान छ ।

    ओलीले सार्वजनिक मञ्चबाटै विधानअनुसार अघि बढ्ने भन्दै खनाल–नेपाल पक्षलाई यही कारबाहीको प्रावधानतर्फ संकेत गरेका हुन् । तर उनले बोलाएको ७ गतेको बैठक नै अवैधानिक हुने भएकाले त्यसको अर्थ नहुने विश्लेषण खनाल–नेपाल पक्षले गरेको छ ।

    केन्द्रीय कमिटीमा शुक्रवार ओलीले थपेका २३ जना केन्द्रीय सदस्य अवैध रहेको र उनीहरु सम्मिलित बैठकको हैसियत गुट भेलाको जस्तो मात्र हुने उनीहरुको ठम्याइ रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend