आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देशभर यसरी फुट्दैछ नेकपा एमाले 

देशभर यसरी फुट्दैछ नेकपा एमाले 

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 6.2K
    SHARES

  • देशभर यसरी फुट्दैछ नेकपा एमाले 

    काठमाडौं – सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारुढ एमालेमा गुटगत भेला र निर्णय हुने क्रमसँगै पार्टी फुटको जोखिम बढेको छ ।

    पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल पक्षले शनिवार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको छ ।

    नेपाल समूहले आगामी चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ । भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ ।

    यसअघि शुक्रवार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर विभिन्न जिम्मेवारी हेरफेर गरेका थिए । त्यसैको परकम्पस्वरूप नेपाल पक्षले पनि शनिवार बैठक राखेर समानान्तर कमिटी बनाएको छ ।

    अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाल पक्षका नेता एकअर्कालाई सिध्याउने र देखाइदिने अराजनीतिक संस्कारसहित अघि बढेको भन्दै कार्यकर्ता रुष्ट भएका छन् । उनीहरुले पार्टी जोगाउन दुबै पक्षलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शुक्रवार नेताको जिम्मेवारी हेरफेर गरेलगत्तै वरिष्ठ नेता नेपाल समूहले समेत शनिवार आफ्नो गुट भेलाबाट समान्तर कमिटी विस्तार गरेको छ । शनिवार नेपाल पक्षको स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा इन्चार्ज तोकेको छ ।

    नेपाल पक्षले यसै हप्ता एमाले सांसद र केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला गरेका थिए । लगतै शुक्रवार ओली पक्षले समेत केन्द्रीय सदस्यको भेला प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्‍यो । सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्त्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल पक्षले सो निर्णय अस्वीकार गरी प्रदेश इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकेको छ ।

    नेपाल पक्षको बैठकले गरेको निर्णयअनुसार तोकिएका इन्चार्जमा १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बर प्रदेशमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल रहेका छन् ।

    महिला इन्चार्जमा अष्टलक्ष्मी शाक्य, प्रचार विभागको इन्चार्जमा योगेश भट्टराई, युवा इन्चार्जमा रघुजी पन्त, विद्यार्थी इन्चार्जमा गोकर्ण विष्ट र बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाललाई जिम्मेवारी दिइएको छ । 

    नेपाल पक्षले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने भएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय कमिटी सदस्य, प्रदेश पदाधिकारी केन्द्रीय विभागका सदस्य र जिल्ला अध्यक्ष सहभागी हुने मापदण्ड बैठकले निर्धारण गरेको छ ।

    प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावलीविपरीत रहेकाले त्यसलाई स्वीकार गर्न नसकिने नेता भीम रावलले बताएका छन् । ‘यो भेलाबाट हामीले एमालेको एकतालाई टुटाउने, पार्टी फुटाउने गरी जसरी पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारबाट आफ्नो गुटको भेला गरेर निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौं,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend