आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षको निष्कर्ष : एमाले फुट्यो !

माधव नेपाल पक्षको निष्कर्ष : एमाले फुट्यो !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 17.9K
    SHARES

  • माधव नेपाल पक्षको निष्कर्ष : एमाले फुट्यो !

    काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिका कारण पार्टी फुटेको निष्कर्ष निकालेको छ ।

    पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्यूँतिएको अवस्थामा अध्यक्ष ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी एक भएर जान नसक्ने निष्कर्ष नेपाल पक्षले निकालेको छ ।

    आज शनिवार बसेको नेपाल पक्षका सांसद सहितको केन्द्रीय कमिटी बैठकमा ओलीले हिजो शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको छ । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय सदस्यले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरू तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने बताएका छन् ।

    बैठकले ओलीले शुक्रवार एकपक्षीय रूपमा प्रदेश इन्चार्ज तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत गरेको छ ।

    बैठकको निर्णय अनुसार १ नम्बर प्रदेशको इन्चार्जमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मेवारी प्रमेश हमाललाई दिइएको नेपाल पक्षले जनाएको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी फुटतिर पुगेको बताएका छन् । यसअघि शुक्रबारै उपाध्यक्ष बामदेव गौतमले समेत ओलीसँग जान नसकिने जनाएका थिए ।

    ‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत ७ गते ओलीले बोलाएको बैठकमा पनि गइन्न,’ उनले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौं ।’

    देशभरबाट एमाले नेता कार्यकर्ताले आफूलाई साथ दिने वचन दिएको बताउँदै नेता नेपालले ग्राउन्ड लेबलसम्म आफूहरूको पक्षमा माहोल रहेको उनले बताए । ‘सांसदहरूले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौं भनेर भन्नुभएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो,’ उनले भने, ‘चमत्कार नै भए मात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’

    नेता नेपालले एमालेको मूलधार आफूहरू नै भएको दाबी गर्दै अब बृहत् बाम एकताको पहल थालिने समेत बताएका छन् । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा बामदेव गौतम पनि अभियानमा सहभागी हुने नेपालले बताए ।

    ‘जेएन खनाल सँगै हुनुहुन्छ, बामदेवजी पनि यहीँ आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ,’ उनले भने ।

    नेता नेपालले आफूहरूले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लवसम्मलाई समेट्न सकिने गरी लागिने बताएका छन् ।

    सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्यूँतिएपछि पनि अध्यक्ष ओलीले सम्बन्ध सुधारमा कुनै पहल नगरेको आक्रोश नेपालले पोखेका छन् । ‘सर्वोच्चले फैसला गरिसकेपछि केपी ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो । उल्टै हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ,’ नेता नेपालले भने ।  

    प्रधानमन्त्री ओलीले नेपाल पक्षको कडा आलोचना गर्न छाडेका छैनन् । शनिवार आयोजित अनेमसंघको कार्यक्रममा नेपाल र खनालको नाम नलिई ओलीले भने, ‘केही साथीहरू केपी ओलीलाई ठेगान लगाउन एमालेमा फर्कन्छौं भनिरहनुभएको छ, म भन्छुु– खुुट्टी देख्दै चाल पाइयो । देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुुभयो भने तपाईंको खुुट्टामा बाटोमै ठेस लाग्छ ।’

    नेता नेपालमाथि व्यंग्य गर्दै ओलीले भने, ‘बाटोबाटोमा अध्यक्षको पकडी बाधेर हिँड्ने ? मलाई त पार्टीको अध्यक्ष मात्रै होइन, साधारण सदस्यबाटै निकालेका थिए । यिनीहरूले सकेदेखि के गर्ने रहेछन् ?’

    अध्यक्ष ओलीले चैत ७ गतेको बैठकमा उपस्थित नभए माधव नेपाल लगायतलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । ‘केही साथीहरु पेरिसडाँडाबाट रुवाबासी गर्दै बिदावारी भएर हिँड्नुुभएको थियो रे ! अर्याल होटलमा १–२ रात बास बस्नुभएको भन्ने सुनियो । प्रशस्त समय रहोस् भने चैत ७ गते बैठक बोलाएको छुु, टेलिभिजनबाटै बोलेपछि सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छुु । केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुुपस्थित रहँदै जानुुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

    यसरी नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । राजनीतिक रूपमा माधवकुमार नेपाल र बामदेव गौतमले ओलीबाट अलग भएको बताइसकेका छन् । अब कानूनी रूपमा विभाजन हुन मात्रै बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend