काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको निर्णयविरुद्ध निर्णय लिँदै माधवकुमार नेपाल पक्षले सातै प्रदेश र विभागमा इन्चार्ज नियुक्त गरेको छ ।
काठमाडौंमा भएको नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ ।
बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावललाई इन्चार्जको नियुक्ति दिइएको छ ।
बैठकबाट विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाल इन्चार्ज नियुक्त भएका छन् ।
शुक्रबार एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । अध्यक्ष ओली पक्षले १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बरमा सत्यनाराण मण्डल र बागमतीमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको थियो ।
ओली पक्षको बैठकविरुद्ध शनिबार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा बोल्दै नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले निराश नहुन आग्रह गरेका छन् ।
‘अहिले अवस्था देखेर साथीहरूमा निराशा होला, केही होला केही नमान्नु, हिम्मतका साथबाट अगाडि बढनुपर्छ,’ बैठकमा उनले भने, ‘जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।’
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारीलाई पदमुक्त गरेपछि आयोजित बैठकमा नेपालले भनेका छन्, ‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढ्नुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढ्नुपर्छ । गलत प्रवृत्तिविरुद्ध हामी एकजुट हुने बेला हो, हामी विचलित भएर हिँड्ने होइन ।’
अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको बेला कसरी सामना गर्ने भन्ने मुख्य विषय रहेको उनले बताए । ‘२ ठूला पार्टीबीच एकता भएर अगाडि बढेको थियो । हामी विश्लेषण गर्दै गरौंला,’ नेता नेपालले भने, ‘हामीले कसरी सामना गरेर अगाडि बढ्ने भन्ने नै अहिलेको मुख्य विषय हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।