काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित माओवादीका सबै मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
माओवादीका सांसदहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह, श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा रहेका छन् ।
यसैबीच, सर्वाेच्च अदालतले तत्कालीन नेकपा एकता बदर गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी छुट्टाछुट्टै हिँडेका छन् ।
छुट्टाछुट्टै भएपनि प्रचण्ड नेतृत्वको माओवादी र एमालेको माधव नेपाल समूहबीच निकटता छ । शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा त्यो निकटता देखिएको छ ।
नेकपा एमालेका नेता भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा भीम रावल छिरेर केहीबेरमा बाहिरिएका हुन् । उनले बाहिर सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएका थिएनन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बेवास्ता गर्दै एकलौटी निर्णय गरेर अगाडि बढिरहेको बेला नेता रावल माओवादी बैठकमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपा एकता हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको माधवकुमार नेपाल पक्ष ओलीविरुद्ध सामूहिक संघर्ष गरिरहेका थिए । तर अब छुट्टाछुट्टै भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।