काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गर्दै महाधिवेशनको मिति तोकेका छन् ।
शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।
२०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । अब अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खोसिएको छ ।
बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सहभागी गराइएको थिएन । सर्वाेच्च अदालतबाट नेकपा बदर भएपछि अब कारवाही गर्ने शृंखला नेकपा एमालेमा सरेको छ । अदालतको फैसलापछि ब्युतिएको नेकपा एमालेमा औपचारिक बैठक नबस्दै अन्तरसंघर्ष देखिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक राखेर नेता माधवकुमार नेपाल र भीम रावल लगायतलाई कारवाही गर्दै जिम्मेवारी खोसेको छ ।
बैठकले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
शुक्रबारको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराई नियुक्त दिएका छन् । विभागमा यसअघि माधवकुमार नेपाल रहेका थिए ।
बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।
बाग्मती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई तोकिएको छ भने १ नम्बर प्रदेशमा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ ।
केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।