काठमाडौं – सर्वाेच्च अदालतको फैसलासँगै ब्युतिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गतेदेखि बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको जानकारी दिए । बैठकबारे अन्तिम निर्णय लिन आज शुक्रबार शीर्ष नेताबीच छलफल हुने जनाइएको छ ।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक गरिसकेको छ ।
केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । एमाले ब्यूँतिएपछि पनि पार्टीका नेताहरूबीच संवादहीनताको अवस्था रहेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली छलफल र सल्लाह नगरी अघि बढेको गुनासो गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरूलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।
नेकपा माओवादी केन्द्रका सांसद भएपनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह एमाले पक्षमा लागेका छन् । मन्त्री बादललाई एमाले उपाध्यक्ष र लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइने स्रोतले जनाएको छ ।
केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा रहेका छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।