काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गर्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी जनता समाजवादी पार्टी (जसपा) यतिबेला सत्ता सहकार्यका लागि सरकारसँग वार्ता गरिरहेको छ ।
डा. भट्टराईको इच्छा र चाहना नहुँदा–नहुँदै पनि जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको जोडबलमा जसपाका शीर्ष नेताहरू ओलीसँग छलफलका लागि बिहीबार साँझ बालुवाटार पुगे ।
पार्टी बैठकमा सहभागी भएर बालुवाटार जाने निधो भइसकेका डा. भट्टराई अन्तिम समयमा ओलीलाई भेट्न गएनन् । भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई जसरी पनि हटाउनुपर्ने माग राख्दै आएका थिए । तर यतिबेला उनकै पार्टी ओलीलाई समर्थन गर्ने सम्भावनाबारे छलफल र वार्ता गरिरहेको छ ।
तर डा. भट्टराई ओलीका स्थायी विरोधी जस्तै छन् । उनले केही दिनअघि ट्विटरमा लेखेका छन्, ‘अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुबै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ? ओली हटाऊ, देश बचाऊ’
ओलीविरुद्ध चर्काे टिप्पणी गर्दै आएका डा. भट्टराईसहित शीर्ष नेताहरू बालुवाटार जानुपर्ने निर्णय जसपाले गरेपछि डा. भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आयो । जसपाका शीर्ष नेताहरू बिहीबार साँझ ५ बजे बालुवाटार गएका थिए ।
जसपा नेपालको बिहीवार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको थियो । जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायत साँझ ५ बजे बालुवाटार जाने तय भइसकेपनि अन्तिम समयमा आएर डा. भट्टराई बालुवाटार गएनन् ।
बिहीबार दिनभर पार्टीको बैठक तथा अन्य भेटवार्ताका कारण धपेडी भएका कारण डा. भट्टराईले बालुवाटार जाने कार्यक्रम रद्द गरेको बताइएको छ । तर खासमा उनी ओलीसँग सत्ता सहकार्य गर्ने विषयमा सकारात्मक छैनन् । उनले ओलीको राजीनामा माग्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।