काठमाडौं – सत्तारुढ नेकपा एमाले र नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) बीच बालुवाटारमा शीर्ष तहको छलफल भएको छ ।
एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सम्मिलित वार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘आजको २ दलको शीर्ष नेतृत्वका बीचको संवाद सकारात्मक रह्यो । छलफललाई निरन्तरता दिने सहमति भएको छ ।’
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन समेत भट्टराई सक्रिय रहेका थिए ।
आजको वार्ताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा लेखेका छन्, ‘नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ । भेटघाट सकारात्मक रहेको छ । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’
नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएपछि नयाँ सत्ता समीकरणको अभ्यास भइरहेको छ । दुबै पार्टीबीच ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने वा जसपालाई प्रधानमन्त्री दिनेबारे समेत छलफल भएको हुनसक्ने स्रोतले जनाएको छ ।
जसपा नेताहरूले भने सांसद रेशम चौधरीको रिहाइ र मुद्दा फिर्ताको विषय मुख्य रहेको बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।