काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक उत्तेजक र आवेगात्मक अभिव्यक्ति दिने गर्छन् । उतिबेला सत्ता समीकरण फेरबदलको खेल भइरहँदा प्रचण्डले आफू मर्न पनि तयार रहेको अभिव्यक्ति दिएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधान, गणतन्त्र, संघीयता नै खतरामा पार्ने गरी देखिएको केपी प्रवृत्तिविरुद्ध लड्दा फेरि जेल जान पनि तयार र मर्न पनि तयार रहेको बताए ।
‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिविरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि तयार, मर्नु परेपनि तयार भनेर गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘युद्ध भनेको हिंसा सहितको राजनीति हो । अहिले हामी शान्तिपूर्ण युद्धमा छौं, त्यो युद्ध चलिराखेकै छ । संसद विघटन, संविधान र गणतन्त्र खारेज गर्ने एउटा षड्यन्त्रविरुद्ध हामीले जित्यौं तर वार जितेका छैनौं । अझै पनि परिवर्तनमाथि हमला भइरहेकै छ ।’
प्रचण्डले शान्तिपूर्ण राजनीतिमा आएपछि नयाँ साथी खोज्दा पुराना (पूर्व जनमुक्ति सेना) साथीहरू छुटेकोमा पश्चाताप समेत गरेका छन् ।
‘एउटा अंग्रेजी कविता छ, नयाँ साथी बनाऊ, पुरानोलाई पनि कायमै राखिराख । नयाँ चाँदी हो, पुरानो सुन हो । कविताले पुरानो बढी महत्त्वपूर्ण हुन्छ भन्ने खोजेको हो,’ प्रचण्डले भने, ‘योसँग मिलेर होला कि, त्यो सँग मिलेर होला कि भनेर धेरै भयो । आफ्नै साथीहरु छुट्दा हामी अलि कमजोर भएजस्तो देखिएको पक्कै हो । अब यसलाई सुधार्छु ।’
प्रचण्डले अब आफू काठमाडौंभन्दा बाहिर २–४ वर्ष अभियानमा बस्ने विचार बनाएको बताएका छन् । ‘देशव्यापी फेरि जनतासँग जोडिनेतिर मैले सोचिराखेको छु, म काठमाडौंभन्दा २–४ वर्ष अभियानमा बस्ने विचार छ । देशका सबै शहर बजार, गाउँका गल्लीगल्लीमा धरातलमा उभिनुपर्ने भएको छ,’ प्रचण्डले भने, ‘अहिले शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टा उभिएर अभियान चलायौं भने प्रतिक्रियावादीलाई परास्त गर्छाैं । नयाँ मान्छे खोज्दा पुराना मान्छे छुटेको पक्कै हो, हामीलाई जसले यहाँसम्म पुर्याए, ती छुटेका छन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।