काठमाडौं – उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रतर्फ लागेर आफ्नै पार्टीको बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई पार्टीमा कसरी भित्र्याउने प्रश्न गर्दै छलफल भइरहेको बताएका छन् ।
प्रेस संगठन नेपाल पर्साले बिहीवार वीरगञ्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आत्मालोचनाको मौका दिइने विषयमा छलफल भइरहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मालोचना गर्न मौका दिइने विषयमा छलफल भइरहेको महासचिव पोखरेलले बताए ।
‘माओवादीबाट आएका साथीहरूलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरू पनि एमालेमै फर्किनुभएको छ, उहाँहरूको बारेमा पनि पार्टीको केन्द्रीय कमिटीमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ,’ उनले भने ।
नेपाल–भारत सीमा पूर्ण रूपमा खोल्नुपर्ने सीमावर्ती क्षेत्रका नागरिकको आवाज उठिरहेको सवालमा महासचिव पोखरेलले स्थानीय जिल्लाका संकट व्यवस्थापन केन्द्रले सीमा खोल्नुपर्ने निर्णय गरेर उच्च स्तरीय संकट व्यवस्थपन समितिमा पठाएपछि गृह मन्त्रालसँग छलफल गरी सीमा खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी संसदबाट प्रधानमन्त्री चयनको विषयमा बोल्दै पोखरेलले सुरूमा अविश्वासको प्रस्ताव टेबल भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसो नभएको खण्डमा अन्य दलहरूसँग सरकार निर्माणको सहकार्य हुने बताएका छन् । ‘यदि त्यो पनि नभएको अवस्थामा देश चुनावमा जाने अवस्था सिर्जना हुन्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।