काठमाडौं – सत्ता समीकरणलाई लिएर सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई आफूतिर तान्न रस्साकसी थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन निर्णायक शक्ति बनेपछि दुबै पार्टीले जसपालाई फकाउन थालेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्रले बुधवार जसपाका नेताहरुसँग छलफल गरेका थिए । बिहान सरकार पक्षसँग कार्यदलस्तरमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुमाझ जसपा कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरे । प्रचण्डले ओलीको विकल्पमा ३ दलीय गठबन्धन सरकार बनाउन जसपालाई आफूतिर ल्याउन चाहिरहेका छन् ।
प्रधानमन्त्री ओलीले पनि जसपाको साथ लिएर सरकारलाई टिकाउन खोजेका छन् । सत्ता समीकरणलाई लिएर यी २ पक्षको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फस्न थालेको छ ।
व्यावहारिक रुपमा अलग भए पनि माओवादी केन्द्र प्राविधिक रुपमा सत्तापक्षमै छ । उसले औपचारिक रुपमा सत्ता सहकार्य तोडेको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुन्छ । माओवादी केन्द्रको मुख्य तारो पनि प्रधानमन्त्री ओली बनेका छन् । ओलीलाई सत्ताबाट च्युत गराउन अध्यक्ष प्रचण्डले केही दिनयता आफ्नो सक्रियता बढाइरहेका छन् ।
मंगलवार जसपा संघीय परिषदका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका प्रचण्डले बुधवार ठाकुर र महतोसँग वार्ता गरेका हुन् । ठाकुरले पार्टीमै जानकारी नगराई सरकार पक्षसँग वार्ताका लागि कार्यदल बनाएको जानकारी गराएपछि प्रचण्डलाई आशंका बढेको छ । ठाकुर, महतोसहित जसपाको पूर्वराजपा धार ओलीसँग जोडिन सक्ने आशंका बढेपछि प्रचण्डले त्यसलाई रोक्न ठाकुर र महतोसँगै छलफल गरेका थिए ।
जसपाका कार्यकारिणी समितिका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईसहित पूर्व समाजवादीका नेताहरुको जोड भने ३ दलीय गठबन्धनतिरै छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिएका दलहरुको सत्ता गठबन्धन नै प्राकृतिक हुने उनीहरुको ठम्याइ छ ।
जसपा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य गर्ने सम्भावनै नरहेको बताएका छन् । ‘अहिलेको अवस्थामा सरकारलाई सघाउने र गठबन्धन बनाउने कुनै सम्भावना छैन, प्रतिगमनकारीलाई सत्ताबाट च्युत गर्ने हाम्रो मूल ध्येय हो,’ यादवले भने । ठाकुरले बनाएको कार्यदल रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइका लागि मात्रै भएको यादवले बताएका छन् ।
अध्यक्ष ठाकुरले नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कार्यदलको सदस्य तोकेपछि पार्टीभित्र विवाद बढेको छ । संसदीय दल बैठकमा मंगलवार ठाकुरले यसबारे जानकारी गराएपछि यादव, भट्टराईसहित अधिकांश नेता झस्केका थिए । त्यसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि झस्कायो । त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै उनी जसपाको मनस्थिति बुझ्न नेता भट्टराईको निवास पुगेका हुन् । आफूलाई प्रधानमन्त्री स्वीकारेमा मात्रै ३ दलको गठबन्धनमा सामेल हुन सक्ने देउवाले बताउँदै आएका छन् ।
ओलीलाई जसरी पनि सत्ताच्युत गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवाकै नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिए पनि जसपाभित्रको विवादले उनलाई सशंकित बनाएको छ ।
माओवादी केन्द्रको बुधवारकै बैठकले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जसपासँग वार्ता गर्न अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । वैकल्पिक गठबन्धनका लागि ३२ सांसद (२ निलम्बितबाहेक) रहेका जसपाको सग्लो समर्थन आवश्यक हुन्छ तर १२० (एक निधनबाहेक) सांसद रहेका ओलीका लागि सरकार टिकाउन १८ सांसद मात्रै भए पनि पुग्छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति भएको जसपाकै नेताहरु बताउँछन् ।
जसपा नेता महतोले सत्तालाई केन्द्रमा राखेर आफूहरुले छलफल नगरेको दाबी गर्दै सत्ता समीकरणलाई लिएर पार्टी विभाजन हुने हल्ला बकबास मात्रै भएको बताएका छन् । ‘प्रधानमन्त्री ओलीसँग जे विषयमा छलफल भइरहेको छ, आज माओवादीसँग पनि त्यही विषयमा छलफल भयो,’ महतोले भने, ‘प्रचण्डसँग पनि हामीले मुद्दाकै विषयमा छलफल गर्यौं । हामी सरकार बनाउने गोटी बनिरहेका छैनौं, हाम्रा माग पूरा गराउन लागिरहेका छौं । जुन पक्षले हाम्रा माग सम्बोधन गर्छ, त्यसैलाई साथ र सहयोग रहन्छ ।’
सरकार र जसपाबीचको कार्यदल सत्ता समीकरणका विषयमा नभई निलम्बित सांसद रेशम चौधरीलगायत मधेश विद्रोह र थरुहट आन्दोलनका क्रममा राज्यबाट पक्राउ परी मुद्दा लगाइएका नेता–कार्यकर्ताको रिहाइ र संविधान संशोधनका विषयमा छलफल भएको महतोले बताएका छन् । सरकारी कार्यदलका सदस्य एवं पार्टी स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले पनि सत्ता समीकरणको विषयमा नभएर जसपाका राजनीतिक मुद्दाहरुका विषयमा मात्रै छलफल भएको बताएका छन् ।
सत्ता समीकरणका विषयमा सरकार पक्षसँग कुरा गर्नै नहुने पक्षमा रहेका यादव र भट्टराईले ठाकुरले गठन गरेको कार्यदलमा आफ्नो पक्षका सदस्य थप्न मानेका छैनन् । सरकारी पक्षमा नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई सदस्य छन् । जसपाबाट २ जना मात्रै सदस्य छन् ।
बिहानको कार्यदलस्तरमा भएको छलफल सकारात्मक भएको नेम्वाङले बताएका छन् । ‘रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा भएका मुद्दामामिलाप्रति उहाँहरु गम्भीर हुनुहुन्छ । मुद्दा फिर्ता र थुनामा रहेका नेता–कार्यकर्ताको रिहाइको माग उहाँहरुले राख्नुभएको छ,’ संसद् बैठकपछि नेम्वाङले भने, ‘सरकार सकारात्मक छ । सरकार कानूनबमोजिम नै अघि बढ्छ ।’ तर उनले सत्ता समीकरणको विषयमा छलफल गर्न कार्यदल गठन नभएको दाबी गरेका छन् ।
जसपाका कार्यदल सदस्य कर्णले पनि सत्ता समीकरणका विषयमा कुरै नभएको बताएका छन् । ‘हाम्रो मुद्दालाई केन्द्रमा राखेर छलफल गरिरहेका छौं, सत्ता समीकरणको विषयमा कसैसँग छलफल गरेका छैनौं,’ कर्णले भने, ‘हाम्रो कार्यदल सरकार निर्माणका लागि छलफल गर्न बनेको होइन ।’
नेकपा माओवादी अध्यक्ष प्रचण्डले ठाकुर र महतोसँगको कुराकानीमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनको विगतको सरकारले संविधान संशोधनको विधेयक अघि बढाएको बताउँदै विश्वास गर्न आग्रह गरेका थिए । प्रक्रिया मिलाएर चौधरीको रिहाइ गर्न पनि कुनै आपत्ति नहुने प्रचण्डको भनाइ थियो ।
जवाफमा महतोले संविधान संशोधनका लागि दुईतिहाइको समर्थनमा सरकार बन्दा समेत बेवास्ता गरिएको कुरा उठाएका थिए । ‘दुईतिहाइ समर्थनको सरकार हुँदाका बखत तपाईंहरुले संविधान संशोधनलाई अघि बढाउन किन छलफल गराउन चाहनुभएन भनेर कुरा राख्यौं,’ महतोले भने, ‘उहाँले कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बनाउन सहयोग गर्नुपर्यो भन्नुभयो । हाम्रा मुद्दा पहिला सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा रह्यो ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।