काठमाडौं – तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण गर्ने निर्णयलाई सर्वोच्च अदालतले रद्द गरिदिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ–आफ्नै पार्टीमा क्रियाशील हुने भएका छन् ।
२०७५ जेठ ३ गते २ पार्टी एकीकरण भएपछि बनेको नेकपालाई सर्वोच्च अदालतले नामका कारण मान्यता नदिएर एकीकरणपूर्व फर्कन दिएको आदेशलाई सम्मान गर्दै दुबै नेताले आ–आफ्नै पार्टीमा क्रियाशील हुने निर्णय गरेका छन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्च अदालतको निर्णयले एमालेतिरै हुने परिस्थिति बनेको टिप्पणी गर्दै पूर्ववत् अवस्थामा पुगेको बताएका छन् । सोमवार पेरिसडाँडामा आयोजित बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग नेता नेपालले एमाले पार्टी दर्ता भएको र सबै कुराको निर्णय हेरेर गर्ने बताएका छन् ।
‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर निर्णय गर्छौं,’ नेपालले भने ।
नेता नेपालले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । ‘प्रचण्डजी (पुष्पकमल दाहाल) को र हाम्रो पार्टी आजबाट अलग भए पनि हाम्रो मन विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौं, फरक–फरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउने प्रयासमा लाग्छौं । सबै वामपन्थी एक हुन्छौं,’ उनले भने ।
पेरिसडाँडाको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पूर्ववत् पार्टीबाटै प्रक्रिया अघि बढाउने बताएका छन् । उनले सर्वाेच्च अदालतले रिट निवेदकको मागदाबीभन्दा बढी गएर राजनीतिक फैसला गरेको टिप्पणी गरे ।
‘निवेदनको बाहिर गएर फैसला गरिएको छ । एकीकृत पार्टीलाई विभाजन गर्ने गरी आयो, गम्भीर असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएको छ,’ श्रेष्ठले भने, ‘राजनीतिक रुपमा र कानूनी ढंगले उपचार खोज्ने, संघर्ष गर्ने, २०७५ जेठ ३ गते एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यमा गम्भीर रुपमा उभिने निर्णय पनि गरेको छ ।’
श्रेष्ठका अनुसार बैठकमा पार्टी एकता सही थियो भनेर समीक्षा गरिएको थियो । ‘वामपन्थी एकता जारी राख्छौं । सर्वाेच्च अदालतको फैसलामा न्यायिक निरुपणका लागि जाने तयारी पनि छ,’ उनले भने । नेकपाको बैठक यही नै अन्तिम भएको उनले बताएका छन् ।
‘अब २ पार्टीबीचमा एकीकरणको प्रक्रिया अघि बढाउँछौं । ठोस प्रक्रिया अगाडि बढाउनेबारेमा छलफल गर्छौं,’ श्रेष्ठले भने ।
पेरिसडाँडामा सोमवार भएको नेकपा बैठकमा रघुजी पन्तले पार्टी एकताको सम्भावनालाई कायमै राख्ने गरी छलफल अघि बढाउन आग्रह गरेका थिए । नेता बामदेव गौतमले सर्वोच्चको फैसलापछि एमालेभित्र न्यूनतम एकता कायम राख्नुपर्ने बताएका छन् ।
अदालतको फैसलालाई स्वाभाविक रुपमा लिएर कार्यान्वयनमा लैजानुको विकल्प नभएको पार्टी एकता अभियानको ठहर रहेको जनाइएको छ । माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसला अनुसार एमालेभित्रै केपी शर्मा ओलीको सामना गर्ने मूड बनाएको छ । ‘पूर्ववत् पार्टीमै अन्तरसंघर्ष हुनेछ, हामीबीच यही निर्णय भएको छ,’ नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने ।
२०७२ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा चुनिएका थिए । अध्यक्षमा थोरै मतले माधव नेपाल पराजित भएपनि पदाधिकारीमा बराबरी र पार्टीको केन्द्रीय कमिटीमा करीब–करीब हाराहारी रहेको नेपाल पक्षले सधैं पेलिएको महसूस गरिरह्यो । महाधिवेशन भएको ३ वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबीच एकीकरण गराएर एमाले पार्टी विघटन गराइदिए । पार्टी विघटन हुनुपूर्व सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा २ पार्टीबीच चुनावी गठबन्धन गरे ।
एउटै घोषणा पत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए, झण्डै दुईतिहाइ मत दिएर सरकारमा पठाए । तत्कालीन एमालेकै तर्फबाट ओली प्रधानमन्त्री बनेका हुन् ।
दुईतिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिस्ट पार्टीले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री ओलीले गरे । नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार २०७४ फागुनमा बनेको हो ।
सरकार बन्नुपूर्व २ पार्टीको एकीकरण गर्ने र त्यही अनुसार अघि बढ्नेगरी तत्कालीन एमाले अध्यक्ष र तत्कालीन माओवादी केन्द्रका अध्यक्षले सत्तासाझेदारीका लागि ३ बुँदे सहमति गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो । प्रचण्डले भारत भ्रमण गरेका बेला आधाआधा कार्यकाल सत्तासाझेदारीको गोप्य सम्झौता गरेको रहस्य खोलेपछि विवाद सुरू भएको थियो । २ अध्यक्ष बनाइएको पार्टीमा एउटा अध्यक्ष प्रधानमन्त्री बन्ने र अर्को अध्यक्षले पार्टी सञ्चालन गर्ने सहमति पनि भयो तर त्यस्तो सहमति कार्यान्वयन हुने र गति लिने अवस्था आएन ।
सत्ता स्वार्थमा पार्टीभित्र पटक–पटक आएको विग्रहमा माधव नेपाल समूहलाई जसरी पनि किनारा लगाउने काम भयो । नेपाल पक्षले आन्तरिक संंघर्ष अघि बढाउँदा–बढाउँदै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरिदिए । संसद विघटन भएपछि भने एकीकृत नेकपा राजनीतिक रुपले विभाजित भयो । पुस ५ गते यता २ पक्षमा विभाजित भएका नेकपा नेताहरुले एकले अर्कालाई चर्का गाली गरेका छन् । जसका कारण नेता र कार्यकर्ता तहमै विभाजित भयो ।
आईतवार सर्वोच्च अदालतले नेकपा नाममा फैसला सुनाउँदा ऋषि कट्टेलका पक्षमा भएपछि भने २ पार्टीलाई एकीकरण पूर्वकै अवस्थामा फर्कादिएको छ । जसका कारण सत्तास्वार्थमा जोडिएका २ कम्युनिस्ट पार्टीहरु पूर्ववत् अवस्थामा फर्कन बाध्य भएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।