काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरु पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् ।
सर्वोच्चले आईतवार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रुप लिन पुगेको थियो ।
सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका सबै नेताहरु एमालेमा नै समाहित भएका छन् ।
नेपाल, खनाल लगायतका प्रचण्ड–नेपाल पक्षमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् ।
तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । प्रचण्ड–नेपाल पक्षको सोमवारको निर्णयपछि दुबै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ ।
प्रचण्ड एकताअघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले प्रचण्ड स्वतहः पार्टीको अध्यक्ष हुनेछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको सोमवार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरु आ–आफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरु आईतवार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।
सर्वोच्च अदालतले आईतवार ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सोमवार बसेको प्रचण्ड–नेपाल पक्षको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ ।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमा अर्को नेपाल कम्युनिस्ट पार्टी दर्ता गराएका थिए ।
पुस ५ गते विघटन गरिएको प्रतिनिधि सभालाई ११ फागुनमा सर्वोच्च अदालतले ब्युँताइदिएको थियो । तर प्रचण्ड–नेपाल पक्षले सर्वोच्चको निर्णयलाई उत्सवकै रुपमा लिएर दीपावली नै गरेको भएपनि प्रचण्ड–नेपालको त्यो खुशीसँगै सर्वोच्चको अर्को निर्णय दुःखका रुपमा परिणत भएको छ ।
आईतबार सर्वोच्च अदालतले नेकपालाई खारेज मात्रै नगरी एकता गर्ने भए अब नयाँ प्रक्रियाबाट यथाशक्य चाँडो निर्वाचन आयोगमा जान पनि भनेको छ । सर्वोच्चको निर्णयसँगै अब संसदमा प्रधानमन्त्री ओली, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एमालेका सांसद भएका छन् । ओलीतिर लागेका रामबहादुर थापा ‘बादल’ लगायतका नेता माओवादी केन्द्रका सांसद भएका छन् ।
प्रतिनिधिसभा विघटनसँगै ओलीसँग सम्बन्धविच्छेद गरेर प्रचण्डतिर लागेका नेपाल कानूनी रुपमा अब एमालेका सांसद भएका छन् । उनीमाथि अब ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईको ह्वीप पनि लाग्नेछ । यदि ह्वीप उल्लंघन गरेमा उनले सांसद पद नै गुमाउनुपर्ने भएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव हाल्दै प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा सारेका नेता नेपालसँग अब २ वटा विकल्प देखिएका छन् । अहिले उनी यिनै २ विकल्पमाथि आफ्ना सहयोगी र नेता कार्यकर्तासँग संवादमा जुटेका छन् । वरिष्ठ नेता खनालले अब पूर्व एमालेमै फर्किएर ओली प्रवृति विरुद्धमा लड्ने निष्कर्ष आफूहरुको रहेको बताएका छन् ।
नेता नेपालले अझै पनि नेकपाको एकता जोगाउने गरी आफूनिकट र प्रचण्ड पक्षसँग छलफल गरेका छन् । सोमवार मात्रै नेता नेपालले काठमाडौंको अर्याल होटलमा आफूपक्षीय नेताहरूसँग छलफल गरेको स्रोतले जनाएको छ ।
छलफलमा समेत सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले पहिलो ‘नेकपाकै एकता बचाइराख्ने’ र दोस्रो ‘ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने’ २ वटा विकल्पमा कुरा गरेका थिए ।
आईतवार सर्वोच्चको निर्णयपछि नेता खनालले आफू एमाले नै भएको बताएका छन् । तर प्रचण्ड पक्षका अध्यक्ष नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिह्न पनि खोसेर आफूहरुले लिने तर्क गरेका थिए । उनले भनेजस्तो अवस्था देखिएन । त्यहीँ कारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका छन् ।
ओलीलाई छाडेर पूर्व एमालेको ठूलो पंक्ति प्रचण्डतिर लागेको थियो । नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब पूर्व एमालेमै फर्किएका छन् ।
प्रचण्ड–नेपाल पक्षका एक जना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइराख्ने विकल्प नै पहिलो प्राथमिकता हुने बताए । उनले पहिलो एकता बचाउने उपायबारे छलफल भइरहेको बताएका छन् ।
‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भन्ने विषयमा छलफल भयो,’ गैरेले भने, ‘अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’
अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताए । आचार्यले सबै विकल्पमा अहिले संवाद भइरहेको बताउँदै पार्टी एकता नयाँ तरिकाले अघि बढाउनुपर्ने बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।