काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरेर विवादमा तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमको अभियान सर्वाेच्च अदालतको फैसलासँग तुहिएको छ ।
अब नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी भइसकेका छन् । अदालतले नै फैसला गरेपछि उपाध्यक्ष गौतमले मिलाउन सक्ने कुरा भएन ।
अदालतको फैसलासँग गौतम नेकपा एमालेको उपाध्यक्ष भएका छन् । पछिल्लो परिस्थितिबारे भएको गौतम पक्षका नेताहरूको बैठकले ‘सम्मानजनक रूपमा’ नेकपा एमालेमा फर्किने निर्णय गरेको छ ।
सोमवार बसेको उपलब्ध नेताहरुको बैठकले सर्वोच्च अदालतको फैसलासँगै एमालेमा फर्किने निर्णय गरेको छ । सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म गौतम पक्षधर नेताहरूको बैठक बसेको थियो ।
‘सम्मानजनक ढंगले एमालेमै फर्किने र त्यता गएर पनि कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिने निर्णय गरिएको छ,’ गौतम निकट एक नेताले भने ।
ऋषिराम कट्टेलले दायर गरेको मुद्दामा फैसला सुनाउँदै आईतबार सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई दर्ता नै नभएको र साविक एमाले एवं माओवादी केन्द्र पूर्ववत् रूपमा रहेको फैसला सुनाएको थियो । अदालतले नेकपा नाम कट्टेलको पार्टीको हुने फैसला गरेको छ ।
पहिल्यै नै दर्ता भइसकेको नाममा एमाले र माओवादी एकीकरण हुन नसक्ने भन्दै अदालतले एकता गर्न चाहे राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार फेरि प्रक्रिया थाल्न आदेश गरेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्काे विवादका कारण पुनः एकता सम्भव छैन ।
सोमवार मात्रै नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले नेपालहरू एमालेतिर फर्किने र प्रचण्डले माओवादी केन्द्रको नेतृत्व गर्ने निष्कर्ष निकालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।