काठमाडौं – सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूतिएपछि माधवकुमार नेपाल पक्षले माओवादी पक्षबाट बिदा हुने निष्कर्ष निकालेको छ ।
प्रचण्ड–नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठकअघि नेपाल पक्षले गरेको छुट्टै भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेकपा एमालेमा जाने निष्कर्ष निकालेको हो ।
नेपाल पक्षको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले एमालेमै ओलीसँग संघर्ष गरेर जाने निष्कर्ष निस्किएको जानकारी दिए । ‘नेकपा एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने निष्कर्षमा पुगिएको छ,’ उनले भने, ‘अहिले पेरिसडाँडामा भइरहेको संयुक्त स्थायी कमिटी बैठक बिदाइ बैठक पनि हुनसक्ने देखिएको छ ।’
नयाँबानेश्वरको होटल अर्यालमा नेपाल पक्षका नेताहरूको भेला भएको थियो । नेपाल पक्षले एमालेमै रहेर पनि ओलीसँग लड्न आफूहरू सक्षम रहेको निष्कर्ष निकालेको छ ।
ओली अध्यक्ष रहेको तत्कालीन नेकपा एमालेका १२० प्रतिनिधिसभा सदस्यमध्ये नेपाल पक्षसँग ४० जना सांसद रहेका छन् भने थप २ जना समेत आफूतिर आउने नेपाल पक्षको दाबी रहेको छ ।
नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा समेत नेपाल पक्ष झण्डै बराबरीको हैसियतमा रहेको छ । ‘नेताहरु सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकनमा पनि जान सक्नुहुन्छ तर त्यस मुद्दाको टुंगो कहिले लाग्छ भन्ने पनि यकिन नै भएन । अब कि त संसदीय मोर्चा केही होइन भनेर आन्दोलनमा जानुपर्यो,’ ती नेताले भने, ‘उता पनि हामी पार्टी एकताका पक्षमा लागिरहन्छौं । ओली प्रवृत्तिविरुद्ध लडिरहनुपर्छ ।’
नेपाल पक्षको छुट्टै भेलापछि अहिले पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालयबाहिर प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बाक्लो उपस्थिति रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।