शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओलीको नियुक्तिले मान्यता पाएपछि प्रचण्डले आकस्मिक बोलाए संसदीय दलको बैठक, केहीबेरमा बस्दै

ओलीको नियुक्तिले मान्यता पाएपछि प्रचण्डले आकस्मिक बोलाए संसदीय दलको बैठक, केहीबेरमा बस्दै

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 12.4K
    SHARES

  • ओलीको नियुक्तिले मान्यता पाएपछि प्रचण्डले आकस्मिक बोलाए संसदीय दलको बैठक, केहीबेरमा बस्दै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक रूपमा बैठक बोलाएका छन् ।

    यसअघि संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई मान्यता दिने निर्णय सुनाएको छ ।

    आज आईतबार अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा दलको बैठक बस्ने नेकपा संसदीय दल प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।

    गुरुङका अनुसार बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने भएको छ ।

    अस्ति शुक्रवार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आईतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्नेबारे बैठकमा निर्णय हुने जनाइएको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिरहेको छ । तर पुनर्स्थापित संसदमा निर्णायक भएर आएको  नेपाली कांग्रेस यतिबेला पर्ख र हेरको अवस्थामा रहेको छ ।

    केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षमा रहेका प्रमुख सचेतक देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए । ओलीले प्रचण्ड पक्षका प्रमुख सचेतकलाई कारवाही गरेर आफ्नो पक्षका सांसदलाई नियुक्त गरेपछि मान्यता पाएको छ ।

    प्रतिनिधि सभामा कुन पक्षले मान्यता पाउने भनेर चासो रहेका बेला ओली पक्षले जितेको छ । अब ओली पक्षकै प्रमुख सचेतकले नेकपाका प्रचण्ड–नेपाल पक्षका सांसदलाई समेत ह्वीप लगाउन पाउने अधिकार पाएका छन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आईतबार जानकारी दिँदै भट्टराईलाई प्रमुख सचेतकका रुपमा गाडी र कार्यालयको व्यवस्थापन सचिवालयले गरिसकेको निर्णय सुनाएका थिए ।

    नेकपाकै प्रचण्ड–नेपाल पक्षले देव गुरुङ नै प्रमुख सचेतक भएको भन्दै सचिवालयमा पत्र पठाएको भएपनि दल विवादको विषय निर्वाचन आयोगले हेर्ने भएकाले संसदले निर्णय नलिने जनाइएको छ ।

    नेकपा दल भित्रबाट भएका कारबाही र अन्य पत्राचार सचिवालयले मान्यता दिने/नदिने अधिकार नराख्ने भन्दै संसद सचिवालयले दल विभाजनको विषय निर्वाचन आयोगको विषय भएको स्पष्ट पारेका छन् । प्रचण्ड पक्षले गरेको कारवाहीको विषयलाई संसद सचिवालयले मान्यता नदिने देखिएको छ ।

    आज आईतबार बस्ने बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका सांसदहरू समेत प्रधानमन्त्री ओलीसँगै सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुबै पक्षका सांसदलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

    प्रवक्ता पाण्डेले भने, ‘दलका २ वटा पक्षको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’

    संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा २ पक्षमा विभाजित भएको हो । एउटा पक्षको नेतृत्व ओली र अर्को पक्षको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् ।

    सरकारले पुस ५ गते संसद विघटन गर्ने निर्णय लिएपनि सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना हुने फैसला गरिसकेको छ ।

    यसैबीच, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेट गरेका छन् ।

    आज आईतबारका लागि आह्वान गरिएको प्रतिनिधिसभा अधिवेशनअघि सापकोटाले प्रचण्ड र नेपाललाई भेटेका हुन् ।

    नेकपाभित्र आधिकारिकता विवाद रहेका बेला सभामुख सापकोटाले एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    आईतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड र नेपालले भेटवार्ता गरेका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताएका छन् ।

    आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ । नेकपा २ पक्षमा बाँडिए पनि औपचारिक रूपमा विभाजित नभइसकेको र दुबै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकप्रति सबैको चासो छ ।

    संसद सचिवालयले भने प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई मान्यता दिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend