काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेट गरेका छन् ।
आज आईतबारका लागि आह्वान गरिएको प्रतिनिधिसभा अधिवेशनअघि सापकोटाले प्रचण्ड र नेपाललाई भेटेका हुन् ।
नेकपाभित्र आधिकारिकता विवाद रहेका बेला सभामुख सापकोटाले एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
आईतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड र नेपालले भेटवार्ता गरेका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताएका छन् ।
आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ । नेकपा २ पक्षमा बाँडिए पनि औपचारिक रूपमा विभाजित नभइसकेको र दुबै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकप्रति सबैको चासो छ ।
संसद सचिवालयले भने प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई मान्यता दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।