काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै पनि पक्षतिर नलागेका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।
हिजो शुक्रबार भैंसेपाटीस्थित गौतम निवासमै पुगेर प्रधानमन्त्री ओलीले आज शनिबार बस्ने संसदीय दलको बैठकमा आउन निम्तो दिएका छन् ।
जवाफमा गौतमले हाँसेर कुनै पनि जवाफ नदिएको ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए । ओलीसँगै नेम्वाङ पनि भैंसेपाटी पुगेका थिए ।
नेम्वाङले भने, ‘उहाँ लडेर घाइते भएको थाहा पाएपछि हामी उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका हौं । सामान्य कुराकानी मात्रै भयो,’ नेम्वाङले भने, ‘त्यहीं बेला बैठकका लागि आग्रह गरिएको छ ।’
प्रधानमन्त्री ओलीसँगै स्थायी कमिटी सदस्य नेम्वाङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत नेताहरू भैसेपाटी पुगेका थिए ।
उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा पार्न ओलीले धेरै कोसिस गरिरहेका छन् । केही दिनअघि गौतमले ओलीलाई बालुवाटारमै भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । हाल गौतम पार्टी एकता अभियान चलाइरहेका छन् ।
उपाध्यक्ष गौतम राष्ट्रिय सभाका सांसद रहेका छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सांसद रहेकी छन् ।
हिजो शुक्रवार प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । प्रचण्ड पक्षले आफ्नो पक्षमा १११ सांसद रहेको दाबी गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।