काठमाडौं – सत्ता र सरकारको भागबण्डा नमिल्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झगडा चर्किएर मिल्नै नसक्ने अवस्थामा पुगेको छ ।
दुबैले एकअर्काविरुद्ध बोल्ने र प्रचण्डले ओलीलाई कारवाही नै गर्नेसम्मको हर्कत देखिएको छ । दुबै पक्षका नेताहरूले मिल्ने सम्भावना देखिरहेका छैनन् ।
सार्वजनिक रूपमै एकअर्कालाई सिध्याउने खालले ओली र प्रचण्ड हिँहिरहेका बेला स्थायी कमिटी सदस्यहरू मुख्यमन्त्री शंकर पोखरेल र पूर्वमन्त्री घनश्याम भुसाल भने अर्कैतिर लागेका छन् ।
ओली पक्षका स्थायी कमिटी सदस्य पोखरेल र प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच बिहीवार दिउँसो सिंहदरबारस्थित संसद सचिवालयका महासचिवको कार्यालयमा छलफल भएको छ ।
छलफलको उद्देश्य ओली र प्रचण्डलाई मिलाउने रहेको जनाइएको छ । पोखरेल र भुसालबीच झण्डै ४५ मिनेट कुराकानी भएको छ ।
भुसालले आफूहरु दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताएका छन् । नेता भुसालले राजनीतिमा असम्भव भन्ने केही पनि नरहेको बताए ।
भुसालले भने, ‘एकता गर्नुपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुवै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो । आजको छलफल त्यसैको शृंखला हो ।’
आजै बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पटक–पटक कारवाही गरिसकेकाले ओलीका गतिविधिलाई आधिकारिकता नदिन भन्दै सभामुख अग्नि सापकोटाको हातमा लिखित पत्र पुगेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सचिवालयलाई पत्र लेखेर प्रधानमन्त्री ओलीले गरेका कामकारवाही र सिफारिसलाई मान्यता नदिन आग्रह गरेका छन् ।
प्रचण्ड–नेपाल पक्षका सांसद देव गुरुङसहित केही सांसदहरू पत्र बोकेर संसद सचिवालय पुगेका थिए ।
प्रचण्डले लेखेको पत्रमा पार्टीले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई दलको नेता र केन्द्रीय कमिटीबाट कारवाही गरेर हटाइसकेकाले ओलीले दलको नेताका हैसियतमा गरेका कुनै पनि कामकारवाही मान्य नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।
‘ओली पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताको रुपमा रहन नसक्ने कुरातर्फ संसदीय दल र सम्बन्धित सबैमा ध्यान आकर्षित गराउन चाहन्छु,’ प्रचण्डले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा विघटन भएपछि बहुमत केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टीबाट निष्कासन गरेको थियो । केही दिनअघि ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।