काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम नेकपा एकता अभियान चलाइरहेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै बैठक, निर्णय, भेला र सभा गरिरहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको प्रयास गरे ।
सर्वाेच्च अदालतबाट संसद पुनर्स्थापना भएपछि उपाध्यक्ष गौतम फेरि सक्रिय भएका छन् । उनले बिहीबार खुमलटार पुगेर प्रचण्डलाई भेट्दै नेकपा एकता गर्नुपर्ने कुरा राखे । गौतमले अबको प्रधानमन्त्री प्रचण्ड हुने र ओलीलाई पार्टी अध्यक्ष मान्नुपर्ने कुरा राखे तर प्रचण्डले ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने जवाफ दिए । यसरी प्रचण्ड र बामदेव गौतमबीच कुरा मिल्न सकेन ।
त्यसपछि शुक्रबार उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार छिरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग नेता गौतमले भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो साढे २ बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करीब १ घण्टा कुराकानी गरेको स्रोतले जनाएको छ ।
उपाध्यक्ष गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गरेका छन् । नेकपा विभाजनपछि गौतमले नेकपा राष्ट्रिय एकता अभियान चलाएका छन् ।
ओलीलाई भेटेर गौतमले प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका जनाइएको छ । तर ओलीले समेत गौतमलाई सकारात्मक जवाफ दिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।