काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् ।
बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका प्रचण्ड–नेपालले बिहीवार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न अनुरोध गरेका छन् ।
नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड–नेपालले करीब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका हुन् । छलफलमा प्रचण्ड–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।
छलफलमा जसपाका नेताहरुले प्रचण्ड–नेपाललाई तपाईंहरुको पार्टी कुन हो भन्दै व्यंग्य समेत गरेका छन् ।
छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरुलाई फकाउने प्रयास गरेका छन् । प्रचण्डले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपा सहितका शक्तिसँग मिलेर आफूहरुले सरकार बनाउन चाहेको बताएका छन् ।
प्रचण्ड–नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरुले भने उनीहरुमाथि आधिकारिकताको प्रश्न उठाएका छन् । जसपा अध्यक्ष ठाकुरले प्रचण्ड–नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्न उठाएका छन् ।
‘तपाईंहरुको पार्टी कुन हो ? पहिले तपाईंहरुले पार्टीको टुंगो लगाउनुस्,’ ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यदि नेकपा नै यथावत् हो भने ठीकै छ । होइन, फुटेकै हो भने पनि तपाईंहरुले राजनीतिक रुपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन ।’
सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए । ‘पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरुको पार्टी चाहियो नि !’ वरिष्ठ नेता महतोले छलफलमा भने, ‘पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ ? पहिले एउटै हो कि २ वटा भइसक्यो ? त्यसलाई कानूनी रुपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ ।’
बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारलाई दिएका छन् । ‘तपाईंहरुको कुन पार्टी हो ? पार्टी चाहियो नि त त्यसमा पहिले प्रष्ट हुनुहोस्,’ बैठकमा आफ्नो भनाइबारे महतोले भने, ‘तपाईंहरुले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौं भनेका छौं ।’
स्रोतका अनुसार बैठकमा जसपा नेताहरुले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए । उनीहरुले यी २ एजेन्डामा प्रचण्ड–नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका छन् ।
जसपा नेताहरुसँगको संवादका क्रममा प्रचण्डले आफ्नै पक्ष आधिकारिक रहेको जिकिर गरेका छन् । प्रचण्डले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरु नै आधिकारिक रहेको तर्क गरेका छन् ।
अर्का अध्यक्ष नेपालले पनि संसददेखि पार्टीसम्म आफूहरुकै बहुमत रहेकाले सबैतिर आफूहरु नै आधिकारिक हुने व्याख्या बैठकमा गरेका छन् । तर जसपा नेताहरुले जवाफमा प्रचण्ड–नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनुपर्ने मत राखेका छन् । उनीहरुले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने शर्त राखेका छन् ।
जसपाले बैठकमा संविधान संशोधनबारे कांग्रेस, एमाले र माओवादीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेको छ । उनीहरुले टीकापुर हत्याकाण्ड सहितका जोडिएका आफ्ना नेता, कार्यकर्ता रिहा नभएसम्म सहकार्य असम्भव रहेको जवाफ दिएको स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।