काठमाडौं – ‘मेरा पतिका हत्यारालाई के आधारमा जेलबाट छोडियो ? आफ्नो पार्टी फुट्यो, कार्यकर्ता कम भए भनेर राष्ट्रपति, प्रधानमन्त्रीले हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरूलाई जेलबाट निकाल्ने ? यो देशमा न्याय, कानून केही छैन ? के अब म पनि मेरा पतिका हत्यारालाई मारेर जेल जाऊँ ? अनि म आवद्ध पार्टीको सरकार बन्यो भने आममाफी लिएर फर्किऊँ ? छातीमा हात राखेर सोच्नुस् त तपाईंहरूलाई स्वीकार्य हुन्छ ? मान्छे मारेपछि सजाय भोग्नुपर्दैन ? २–२ जनाको हत्या गर्नेलाई उन्मुक्ति दिन मिल्छ राष्ट्रप्रमुखले ?’
यी प्रश्न २०६८ सालमा जेलभित्रै चितवनका शिवप्रसाद पौडेलको हत्या गरेका मानिसलाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिइएपछि पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले गरेकी हुन् ।
उनी ४ दिनदेखि यिनै प्रश्नको उत्तर खोज्दैछिन् । ‘मान्छे मारेर जेल परेका व्यक्तिलाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपतिज्यू,’ बिनुको प्रश्न छ ।
पौडेलको हत्यारा प्रमाणित भई जेल सजाय भोगिरहेका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते आममाफी दिइएपछि बिनुले न्यायका लागि फेरि लड्ने बताएकी छन् ।
२७ वर्षको उमेरमा बिनुले पति गुमाएकी थिइन् । चितवनको केराबारीमा भएको १ व्यक्ति हत्या मुद्दामा उनका पति २०६८ भदौमा जेल परेका थिए । जुन हत्यामा उनलाई फसाइएको दाबी परिवारका सदस्यले अहिले पनि गर्छन् ।
थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवलाई मंसिर २० गते राति सुतिरहेका बेला चक्कु, खन्ती, चापाकलको झाप र रडले कुटपिट गरियो । गम्भीर अवस्थाका पौडेललाई चितवनकै सरकारी अस्पताल लगियो । चिकित्सकले त्यहाँ उपचार नहुने भनेपछि पुरानो मेडिकल कलेज लगियो ।
केही दिनपछि पौडेललाई काठमाडौं लगियो । पुस २ गते उनलाई मृत घोषणा गरियो । तर जेलभित्र भएको घटनाबारे अहिले पनि जेल र अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी खुलेर बोल्दैनन् ।
त्यतिबेला पौडेल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल चितवनका अध्यक्ष थिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । चितवनमा कांग्रेसको राम्रो पकड थियो ।
तत्कालीन समयमा पौडेल कांग्रेसका लोकप्रिय र जुझारु युवा नेता थिए । उनको हत्याले चितवनमा निम्तिन सक्ने सम्भावित राजनीतिक हिंसालाई ध्यानमा राखेर योजनावद्ध रुपमा चितवनबाट काठमाडौं लगेर केही दिन राखी मृत घोषणा गरिएको दाबी परिवार तथा आफन्तको छ ।
स्रोतका अनुसार चितवनमै मृत्यु भइसकेका पौडेललाई काठमाडौं लगेर मृत घोषणा गरिएको हो । तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
२०६६ साल जेठमा शिवका भाइ गोविन्दको भरतपुरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही मुद्दामा चितवनका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तान जेल परेका थिए । उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरेका थिए ।
बिनुले देवरको हत्या मुद्दामा तत्कालीन एमालेका ३ जना कार्यकर्ता पक्राउ परेपछि त्यसकै बदला लिन आफ्ना पति शिवलाई पनि हत्या मुद्दामा फसाएर जेल हालिएको र त्यहीँ हत्या गरिएको दाबी गर्दै आएकी छन् ।
पौडेल दाजुभाइको हत्यामा संंलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिइएपछि असन्तुष्टि चुलिएको छ । आममाफी दिइएका तीनै जना नेकपा ओली समूहका हुन् ।
स्रोतका अनुसार यी ३ जना तत्कालीन समयमा एमालेका नेताहरुको ठेक्कापट्टामा बिचौलियाको पनि काम गर्थे ।
शिवको हत्या हुँदा बिनुको काखमा ५ वर्षका छोरा थिए । तिनै छोरालाई काखमा च्यापेर उनी पतिका हत्यारालाई कारबाहीका लागि कानूनी प्रक्रियामा लागिन् । हत्यारालाई जेल सजाय भएपछि उनी पति शिवले धानेको व्यापार, छोरासहित परिवारका सबैलाइ एकीकृत गर्दै पीडा भुल्ने प्रयासमा लागिन् ।
आफूलाई व्यस्त राखेर पीडा भुल्न उनले अध्ययन पनि सुरू गरिन् । अहिले उनी स्नातकोत्तर गर्दैछन् । बिनुको खाटा बसेको घाउमा यसपालिको प्रजातन्त्र दिवसका अवसरमा सरकारले फेरि नुनचुक लगाइदियो ।
‘न्यायका लागि लड्नुपर्छ भनेर हिम्मत जुटाएँ । न्याय पनि मिल्यो तर सरकारले हत्यारालाई पुरस्कृत गर्यो । यसले ठूलो पीडा भएको छ । मुटु फुटेर रगत बगिरहेको जस्तो भइरहेको छ,’ उनले भनिन् ।
उनले फेरि प्रश्न गरिन्, ‘जेलभित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ । के नेपालमा प्रजातन्त्र र लोकतन्त्र हत्यारालाई चोख्याउन ल्याइएको हो ?’ अपराधीलाई पहँुच र पैसाको आडमा सरकारले जेलबाट मुक्त गरेको भन्दै उनले न्यायका लागि फेरि लड्ने बताइन् ।
‘जीवन रहुन्जेल, अपराधीलाई कारबाही नहुञ्जेल म कानूनी लडाइँ लडिरहन्छु । जहाँ जान पर्छ जान्छु, जे गर्नु पर्छ गर्छु,’ उनले भनिन् ।
बिनुको गुनासो सबैभन्दा धेरै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छ । सत्ता र शक्तिको आडमा राष्ट्रपतिले हत्यारालाई उन्मुक्ति दिएको उनको बुझाइ छ । देशको अभिभावक भएको नाताले राष्ट्रपतिले कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने उनले बताइन् ।
‘विद्यादेवी भण्डारी कुनै पार्टीको व्यक्ति हुन सक्नुहुन्छ तर राष्ट्रपति भइसकेपछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै मुख हेरेर हुन्छ ? उहाँ राष्ट्र, जनता र कानूनअनुसार चल्नु पर्दैन ?’ बिनुले सोधिन् ।
राष्ट्रपतिले पदका लागि पतिका हत्यारा नखोजी बसेको भन्दै बिनुले आफूले भने पतिका हत्यारालाई माफी दिन नसक्ने बताइन् । ‘कालो गाडी चढेर रातो कार्पेटमा हिँड्न पाएपछि राष्ट्रपति भण्डारीले आफ्ना श्रीमानको हत्यारा भुल्न सक्नुहुन्छ होला तर मैले सक्दिनँ, मलाई न्याय चाहिन्छ,’ बिनुले भनिन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका दिन ५०० भन्दा बढी कैदीलाई आममाफी दिएकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह र १७९ जनाको भुक्तान हुन बाँकी कैद छुट गरिएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।