काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरिरहेको खुलासा गरेका छन् ।
‘प्रधानमन्त्रीले विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ नेता थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’
नेपाली कांग्रेस नवलपलरासीको हुप्सेकोट गाउँपालिकाद्वारा आईतवार हुप्सेकोटमा आयोजित आमसभामा बोल्दै थापाले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको बताए ।
सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिँडेका उदाहरण पनि संसारमा कहीँकतै नभएको उनले बताएका छन् । ‘केपी ओली सन्काहा हुन्,’ उनले भने, ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।’
प्रधानमन्त्री ओलीले जे–जे गल्ती गर्दै जान्छन्, त्यसको साक्षी अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको बताएका छन् ।
न्यायाधीशले विवेक पुर्याउँछन् कि पुर्याउँदैनन् भनेर जनताले प्रतीक्षा गरिरहेको नेता थापाले बताए । न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त रहेको थापाले बताएका छन् ।
नेता थापाले कम्युनिस्टहरू गरीबीमा उम्रिने र हुर्किने गरेकाले उनीहरूबाट विकास र स्थायित्वको काम हुनै नसक्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।