काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि रहेको स्मरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् ।
विराटनगरमा आयोजित कार्यक्रममा ओलीले सर्वाेच्च अदालतबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै नेता थापाले सर्वाेच्चले भीड नहेरी संविधान हेरेर फैसला गर्ने जनाएका छन् ।
उनले लेखेका छन्, ‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् । प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो । स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो त !’
विराटनगरमा आयोजित सभामा ओलीले भनेका थिए, ‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले, कसैका दबाबमा, कुनै अवाञ्छित या दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौं, चुनावतर्फ जाँदैछौं । सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभाहरुलाई हेरेको होला । यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला । संविधानको मर्म र भावना हेरेको होला । त्यसपछिका परिणतिहरु र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला । कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’
ओलीको भनाइप्रति नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले समेत कडा जवाफ दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै नेता रावलले ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको आपराधिकीकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।