काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभाबाट सर्वाेच्च अदालतलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले् कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै नेता रावलले ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको आपराधिकीकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’
विराटनगरमा आयोजित सभामा ओलीले भनेका थिए, ‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले, कसैका दबाबमा, कुनै अवाञ्छित या दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौं, चुनावतर्फ जाँदैछौं । सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभाहरुलाई हेरेको होला । यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला । संविधानको मर्म र भावना हेरेको होला । त्यसपछिका परिणतिहरु र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला । कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।