काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश ईन्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीभित्र वैचारिक मन्थन नभएकै कारण केपी शर्मा ओली जस्ता तानाशाहको उदय भएको टिप्पणी गरेका छन् ।
पाल्पा जिल्लाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले पार्टीलाई नीति सिद्धान्त, वैचारिक परीक्षण विना नेतामुखी पार्टी भए भोलि पार्टीको अर्काे तानाशाही ओलीवाद आउने चेतावनी दिएका छन् ।
नाम मात्र कम्युनिस्ट, काम सामन्तवादीको रूपमा परिणत भएको नेकपा अब केपी ओलीकै कारण सच्चिने मौका पाएको बताएका छन् ।
पूर्व कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वाेच्च अदालतले सेटिङमा निर्वाचनको पक्षमा फैसला आए मुलुकमा रक्तपात मच्चिने चेतावनी दिएका छन् ।
‘प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए मुलुकमा रक्तपात मच्चिन्छ । विघटनकै पक्षमा फैसला भए पनि बैशाखमा निर्वाचन हुने अवस्था छैन,’ नेता भुसालले भने, ‘गलत फैसला भए मुलुकमा नीतिनियम विधिविधान सबै समाप्त भएर देश भासिने र हामी सबै समाप्त हुने अवस्था आउने छ । त्यसैले सर्वाेच्च अदालत, न्यायाधीशले मुलुकको सर्वाेत्तम हितमा निर्णय गर्ने विश्वासमा छु ।’
नेता भुसालले जनमत र संविधान विपरीत फैसला भए पनि आगामी असारभित्र ओलीलाई सडकमा ल्याउने चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई लंकाको रावणसँग तुलना गर्दै नेता भुसालले १० टाउके रावणले अन्तिममा लंका नै ध्वस्त बनाएर आफू पनि सिद्धिएको दृष्टान्त सुनाउँदै त्यसैगरी ओलीले पार्टी र देशलाई ध्वस्त बनाउँदै सिद्धिने अवस्थामा पुगेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।