काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार २ नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई शपथ गराइएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएर बहिष्कार गरेपछि खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुवै जना शपथ कार्यक्रममा उपस्थित नभएपछि गम्भीर प्रश्नहरू गरेका छन् ।
थापाले फेसबुकमा लेखेका छन्, ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन ।’
थापाले उपराष्ट्रपति पुनले प्रचण्डपथीय मन्तव्य दिएको आरोप समेत लगाएका छन् । ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिँड्नु झन् गैरजिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’
‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो,’ थापाले लेखेका छन्, ‘बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिष्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ! गरिमामय पदमा आसीन हुने तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याइ गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, शपथग्रहण समारोह बहिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने र टाँस्सिइरहने ? सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने – यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ? पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गम्भीर प्रश्नहरू !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।