काठमाडौं – निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रिसाएका छन् ।
आयोगले अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नगरेको गुनासो गर्दै ओलीले घोषित चुनावविरुद्ध कुनै पनि षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भन्या छु,’ शुक्रवार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अस्ती गएर सोधें, तयारी गरिरहेका छौं भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन ।’
ओलीले भने, ‘के तयारी गर्दै हुनुहुन्छ ? त्यति राम्रो देखिएको छैन । आयोगको तयारी जनताले त्यति थाहा पाए जस्तो लाग्दैन ।’
कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनेर आशंका गरिरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका छन् । ‘तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफूले संविधान नमिचिने दाबी समेत गरेका छन् । चुनावले लोकतन्त्र समाप्त नहुने भन्दै ओलीले भने, ‘बैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।