काठमाडौं - आफ्नो कुर्सी धरापमा पर्ने संकेत देखिएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा नै भंग गरिदिए । प्रधानमन्त्रीले संसद् भंग गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हतार हतार सदर गर्दै निर्वाचनको मिति पनि तोकिन् ।
जनप्रतिनिधि थलो नै नरहेपछि अहिले ओली र भण्डारीलाई हाइसञ्चो भएको छ । सांसद पद नै नभएकाले सडकमा बसेर कराउनको कुनै अर्थ नहुने भन्दै प्रधानमन्त्री ओली बालुवाटारमा बसेर तमासा गरिरहेका छन् ।
तीन वर्षमै फेरि मुलुकले २०औं अर्ब चुनावका लागि चुकाउनुपर्ने परिस्थिति ओलीले सिर्जना गरिदिएका छन् । प्रतिनिधिसभा भंग गरेर आफ्नो कुर्सीको आयु बढाएका ओलीले आफू निकटको कुर्सी जोगाउन प्रदेश सभालाई पनि पेण्डुलम बनाइदिएका छन् ।
प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । तर, शीतल निवास र बालुवाटारको दबाबमा प्रदेश सभा बैठक नै बस्न दिइएको छैन ।
सूचना टाँस गर्दै लम्ब्याउँदै लैजान लागिएको छ । आज बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले सूचना टाँस गरी सम्पर्कविहीन भएका छन् ।
बैठक बस्न नसक्नुलाई विशेष कारणवश भनिएको छ । बैठक स्थगित भएपछि सभामुख सानुकुमार श्रेष्ठको मोबाइल स्विच अफ भएको छ ।
प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बालुवाटार र शितल निवासको दबाबमा सभामुख लाचार भएर बैठक स्थगित गरेको आरोप लगाएकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।