दैलेख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३ वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले सरकारले कुनै काम नगरेको प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए ? यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए ? यो नेपाली जनताका लागि उपलब्धिको विषय होइन,’ नेता पौडेलले भने, ‘यो ३ वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । ३ वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन ।’
नेता पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरू नभएको दाबी गरेका छन् । ‘पहिले सुरू भएका योजनाहरू निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो,’ पौडेलले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १०% मात्रै बाँकी थियो । ३ वर्षसम्म त्यो १०% काम पनि पूरा भएन ।’
कार्यक्रममा बोल्दै पौडेलले भने, ‘३ वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’
ओली सरकारले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको उनको भनाइ थियो । नेता पौडेलले संसदले पास गरेको नेपालको नक्सा केपी ओलीले शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताएका छन् ।
पौडेलले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकिर समेत गरेका छन् ।
प्रधानमन्त्रीको रूपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिनँ भन्ने केपी ओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै उनले केपी ओली र विद्यादेवी भण्डारी संविधानभन्दा माथि बस्न खोजेको तर नेपालमा कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न नपाउने दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार ७० महिना लगाएर मर्मत गरिएको सिंहदरबारबाट सरकारको ३ वर्षे कार्यकालमा धेरै राम्रा काम भएकाले आफ्नो सरकार सफल रहेको दाबी गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।