काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको धार्मिक आस्थामा खेल्न खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत सोमबार चितवनमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता थापाले पशुपतिमा गएर पूजा गर्नु सबैको अधिकारको विषय भए पनि त्यसलाई आफ्नो निहित स्वार्थमा प्रयोग गर्ने कुरा स्वीकार्य नभएको बताएका छन् ।
‘तपाईं जतिबेला होटलमा लुकेर कोरियाबाट आएको एक माताबाट होलीवाइन खाँदै हुनुहुन्थ्यो, हामी पशुपतिमा आरती गरिरहेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्री तपाईं मेरो भावनामाथि खेल्न खोज्दैछन् ।’
थापाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाए पनि देश अस्तव्यस्त बनेको आरोप समेत लगाएका छन् ।
थापाले भने, ‘समृद्ध नेपाल सुखी नेपाली होइन, सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल !’ अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिने विश्वास नेता थापाले व्यक्त गरेका छन् ।
‘अदालतले देखाइदेओस् प्रधानमन्त्रीलाई, तपाईंले राष्ट्रपतिलाई मिलाएको जस्तो अदालतलाई मिलाउन सक्नुहुन्न,’ उनले भने ।
नेता थापाले प्रधानमन्त्रीलाई जनताले केबल हाँस्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी समेत गरे । उनले प्रधानमन्त्रीको सभामा मान्छेहरु भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताएका छन् ।
‘प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्झाउनुपर्ने बेला भएको छ – प्रधानमन्त्रीले के भन्नुहुन्छ भनेर सुन्न जनता आएका होइनन्, केबल हाँस्य कलाकारलाई सुन्न आएका हुन् । तपाईंलाई जनताले हाँस्य कलाकारका रुपमा सुन्न चाहेका छन् ।’
थापाले भने, ‘प्रधानमन्त्रीज्यूलाई सामाजिक सञ्जाल खुब मन पर्छ । उहाँ टिकटकमा पनि हुनुहुन्छ । मलाई टिकटकको एउटा यस्तो भिडियो देखाउनुस्, जसलाई प्रधानमन्त्रीले विकास निर्माणबारे बोलेको कुरामा बनाइएको होस् ।’
नेता थापाले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन नेकपाको जिल्ला अध्यक्षलाई कांग्रेस सभापतिले हटाए जस्तै अनधिकृत रहेको टिप्पणी गरेका छन् ।
‘यो असंवैधानिक मात्र होइन अनधिकृत हो, कांग्रेसको सभापतिले नेकपाको जिल्ला अध्यक्षलाई पदबाट हटाएजस्तो,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।