काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलाई पक्राउ गर्ने योजना बनाएकोबारे रहस्य खोलेका छन् ।
सर्वाेच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा नेता नेपालविरुद्ध परेको रिटमाथि प्रमाण बुझ्ने आदेश दिएकै दिन आज आईतबार उनले पक्राउ गर्ने योजनाबारे मुख खोलेका हुन् ।
तेह्रथुमको म्याङलुङ बजारमा आईतवार आयोजित विरोध सभामा अध्यक्ष नेपालले नेतृ रामकुमारी झाँक्रीपछि आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने ओलीको योजना रहेपनि सफल हुन नसकेको दाबी गरे ।
अध्यक्ष नेपालले नेता तर्साउन झाँक्रीपछि आफू र प्रचण्डलाई पक्राउ गर्ने योजना भए पनि झाँक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफैं डराएर पछि हटेको बताएका छन् ।
‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ती कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौं ?’ उनले सोधे ।
नेता नेपालले ज्ञानेन्द्र जस्ताको सातो लिएको भन्दै केपी ओली कहाँका हुन् भनेर प्रश्न गरेका छन् ।
उनले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको आरोप समेत बताएका छन् । ‘मुलुकका सारा समस्यामा छलफल गरौं भन्यो सुन्दैनन्, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौं,’ अध्यक्ष नेपालले भने ।
नेपालले ओलीले मान्छेहरू भोकभोकै पर्दा, कोरोनाले थलिँदा, महिलाहरू बलात्कारमा पर्दा, बन्द उद्योगधन्दाहरू चलाउ भन्दा समेत ओलीले बेवास्ता गर्ने गरेको गुनासो गरेका छन् ।
नेकपा विवादबारे बोल्दै नेपालले भने, ‘जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुन सक्दैन । केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।