काठमाडौं - सत्तारुढ नेकपा व्यावहारिक रुपमा विभाजन भइसकेको छ । कानुनी रुपमा विभाजनको टुंगो लागेको छैन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ ।
सो समूहले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग राख्दै आएको छ । नेकपा ओली र प्रचण्ड–माधव समूहले आधिकारिक पार्टी आफ्नो भएको दाबी गर्दै आएका छन् । निर्वाचन आयोगमै निवेदन दर्ता गरिसकेका छन् ।
तर, निर्वाचन आयोग भने नेकपाको विवाद नटुंग्याई निर्वाचनको तयारीमा जुटेको छ । आयोगले निर्वाचनको आचारसंहिताबारे छलफल गर्न आज प्रमुख दलका अध्यक्षलाई आयोगमा बोलाएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।
आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।
दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।
तर नेकपाको विवाद टुंगो नलागी कसरी निर्वाचन हुन्छ भन्ने विषयमा आयोग मौन छ । आयोगको यो तयारीले नेकपा ओली समूहकै हो कि भन्ने भान सबैमा परेको छ भने प्रचण्ड माधव समूहलाई धक्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।