काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मातहतको सशस्त्र प्रहरीको कार्यविधि परिवर्तन भएर सबै प्रदेशका मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको छ ।
प्रदेश सरकारका मन्त्रीहरूको अंगरक्षकमा खटिएका सशस्त्र प्रहरीलाई बिहीवारदेखि हटाइएको छ ।
आज ७ वटै प्रदेशका मन्त्रीहरूको अंगरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको छ ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले फौजको नयाँ कार्यविधिअनुसार प्रदेशका मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको बताएका छन् ।
सशस्त्र प्रहरीको नयाँ कार्यविधिमा प्रदेशका मन्त्रीहरूको सुरक्षामा सशस्त्र प्रहरी नखटाउने उल्लेख भएकाले फिर्ता बोलाइएको उनले बताए । नयाँ प्रावधानअनुसार प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुलाई फिर्ता बोलाइएको छ ।
अन्य प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सरकार रहेकाले संघीय सरकारको निर्णय सामान्य रूपमा लिइएपनि २ नम्बर प्रदेश सरकारले गम्भीर रूपमा लिएको छ ।
२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार नै आकस्मिक सुरक्षा बैठक बोलाएका छन् । प्रतिनिधिधसभा विघटनसँगै देखिएको राजनीति संकटलगत्तै प्रदेशका मन्त्रीहरूको सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएपछि सरकारका मन्त्रीहरूमा शंका रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशलाई नै असफल बनाउने प्रयास गरिरहेका बेला मन्त्रीहरूको सुरक्षाबाट सशस्त्र प्रहरीलाई झिक्नु शंका उत्पन्न भएको २ नम्बर प्रदेशका एक मन्त्रीले प्रतिक्रिया दिए । उनका अनुसार राजनीतिक संकटका बेला सुरक्षा मजबुत पार्नुपर्नेमा उल्टै सुरक्षा फिर्ता गर्नु शंकास्पद रहेको छ ।
सशस्त्र प्रहरीले सुरक्षा हटाएपछि अब प्रदेश सरकारका मन्त्रीहरूले नेपाल प्रहरीको सुरक्षा थप्ने तयारी गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।