काठमाडौं - डेढ महिनादेखि आन्दोलन गर्दा पनि सरकार नगलेपछि पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायत अहिले संयुक्त आन्दोलनको वकालत गरिरहेका छन् ।
उनीहरूले निरन्तर संयुक्त आन्दोलन गर्न दबाब दिँदै आएका छन् । तर, उनीहरूले संयुक्त आन्दोलन गर्न गरेको प्रस्तावप्रति नेपाली कांग्रेसले खासै वास्ता गरेको छैन ।
सोमबार कांग्रेसल नेताहरूले संयुक्त आन्दोलन गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला मात्र होइन, संस्थापन पक्षका एनपी साउदसम्मले कांग्रेसले संयुक्त आन्दोलनमा जाने होइन, बरु एक्लै सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् ।
ओलीले संसद् विघटन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गएर विपक्षी पार्टीहरूले कांग्रेस नेतृत्वमा आन्दोलन गर्नुपर्ने प्रस्ताव गरेका थिए । एक्लाएक्लै आन्दोलन गर्दा प्रतिगमन परास्त नहुने भन्दै प्रचण्ड, बाबुरामको आग्रहप्रति नेपाली कांग्रेसले किन इन्कार गर्दै आएको छ त ? संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि तीन तहको निर्वाचन आवश्यक थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । माओवादी पनि सरकारमा थियो । तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि माओवादीले तत्कालीन एमालेसँग वाम एकताको सहकार्य गरेर कांग्रेसलाई धोका दियो ।
माओवादीका जनार्दन शर्मा, एमालेका वामदेव गौतम, विष्णु पौडेलको लहलहैमा लागेर प्रचण्डले कांग्रेसमाथि ठूलो विश्वासघात गरे । सरकारमा रहेको पार्टीलाई धोका दिएर विपक्षी पार्टीसँग वाम एकता गर्ने र पछि दल एकता गर्ने निर्णय गरेपछि कांग्रेस सभापति देउवाले अबदेखि माओवादी नेताहरुलाई कहिल्यै पनि विश्वास गर्न नसकिने निर्णय गरेका थिए ।
उनीहरूको आन्दोलनले ओली सरकारलाई खासै ठूलो असर गरेको छैन । बरु प्रधानमन्त्री ओली एकपछि अर्को निर्णय गर्दै गइरहेका छन्, जसले पछि घाटा लाग्ने भनेको नेकपा प्रचण्ड–माधव समूहलाई नै हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।