काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघको भेलालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट युवाले बहिष्कार गर्दै आन्तरिक विद्रोह गरेका छन् ।
एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रूपमा भेला राखेकाले बहिष्कार गरेको बादलनिकट नेता वीरु तामाङले जानकारी दिए ।
आईतवार उद्घाटन भएर सोमवारसम्म चलेको भेलामा पूर्व माओवादीका कुनै पनि केन्द्रीय सदस्य सहभागी नभएको तामाङले बताएका छन् ।
प्रधानमन्त्री ओली र गृहमन्त्री बादल पक्ष गरी युवा संघमा रहेका २ वटा पक्षबीच एकता प्रक्रिया नटुंगिँदै भेला राखेकाले बहिष्कार गर्नुपरेको जनाइएको छ ।
तत्कालीन एमालेको युवा संघ र माओवादी केन्द्रको वाइसीएल एकीकृत भएपछि बनेको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा ३३५ सदस्य रहेका थिए । तीमध्ये पूर्व एमाले तर्फका १९२ जना र माओवादी केन्द्रका १४३ जना रहेका थिए ।
नेकपा विभाजनपछि माओवादीतर्फका युवामध्ये ३८ जना केन्द्रीय सदस्य थापाकै पक्षमा छन्, जसको नेतृत्व तामाङले गरिरहेको स्रोतले जनाएको छ । माओवादी तर्फका बाँकी १०५ जना युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’सँग रहेको तामाङले बताए ।
युवा संघका संयोजक रमेश पौडेल र बादल पक्षले ब्यूँताएको वाईसीएलका संयोजक वीरु तामाङ युवा संघको केन्द्रीय समितिको बैठकमा ८० जना सहभागी नभएका तामाङले बताए ।
‘पूर्व वाईसीएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जना समेत गरी ८० जना बैठकमा गएनौं,’ तामाङले भने, ‘उहाँहरूले केन्द्रीय कमिटीको बैठक भनिराख्नुभएको छ, जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ ? कि नाम सार्वजनिक गर्नुपर्यो, रमेश पौडेलजीले केन्द्रीय कमिटीको नाम समेत सार्वजनिक गर्नुभएको छैन ।’
गृहमन्त्री थापाले माघ ९ गते आफ्नै सचिवालयमा रहेका तामाङको नेतृत्वमा युवासंघमा रहेका केही युवाहरूलाई लिएर पूर्व वाइसीएल ब्युँताएका थिए ।
बैठक बहिष्कार गरेका वाइसीएलका युवाहरू आन्तरिक छलफलमा रहेका छन् । कुरा नमिले वाइसीएललाई युवा संघको समानान्तर संगठन बनाउने तयारी समेत गरिएको छ ।
ओली पक्षका युवा संघका केन्द्रीय सदस्य प्रभातविक्रम कटुवालले बादल पक्षीय युवाहरू बैठकमा नआएको र सहमतिको प्रयास भइरहेको जानकारी दिए ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको समर्थन र बचाउ गरेका गृहमन्त्री बादल आफू निकट ३७ जना केन्द्रीय सदस्य सबैलाई छाडेर ओलीसँगै बसेका छन् । पूर्व माओवादीका अधिकांश नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा लागेपनि बादल ओली पक्षमा छन् ।
एक्लै ओली पक्षमा लागेका बादलले युवामार्फत् आफ्नो शक्ति जुटाउन थालेका छन् । बादलले पूर्व जनमुक्ति सेनाका केही कमान्डरसँग भेट गरेर तिनलाई आफूतिर तान्ने कोसिस गरेका छन् । त्यसपछि वाइसीएल पनि ब्यूँताएका छन् । बादल वाइसीएललाई तत्काल युवा संघमा नगाभ्ने पक्षमा समेत देखिएका छन् ।
बादल यतिबेला ओली समूहमा आफ्नो बलियो पकड बनाउने प्रयत्नमा रहेका छन् । ओली पक्षले माघ २३ गते गरेको सभामा बागमती प्रदेशका सबै जिल्लाबाट मानिस ल्याउन थापालाई समेत दबाब परेको थियो । माघ २१ गते आयोजना गरिएको मोटसाइकल र्यालीमा पनि थापा पक्षले काठमाडौंको गौशालाबाट छुट्टै मोटरसाइकल जुलुस निकालेर शक्ति प्रदर्शन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।